नेपालगन्ज : नेतृत्वलाई आर्दशका कुराले मात्रै जनताले अब मान्ने अवस्था छैन । अबको जनताले परिणाम त्यो पनि युगा अनुसारको तीब्र परिणाम खोज्दै छ । यही जनताको तीब्र चाहना नबुझ्दा या बुझेर पनि शिर्ष नेतृत्वले बुझ पचाउँदा नेपाली जनजीवनमा सामाजिक बिस्फोटहरू उत्पन्न हुने सम्भावना दिन प्रतिदिन बढ्दै आएको घटनाक्रमले देखाउँदै आएका छन् । जनतामा सर्बत्र निराशाका कालाबादलहरु लामो समयदेखी मडारी रहेका छन् । नागरिकमा धैर्यताको बाँध टुट्ने अवस्थामा पुग्दैछ । समाजको हरेक तहमा देशका नेतृत्वकर्ताका क्रियाकलाप बाट जनता वाक्क दिक्क भएको चित्र देखिन्छ ।
जनता र यो मुलुकको कायापलटका लागि केही गरौं भन्ने भिजनसहित आएका युवा नेतृत्वलाई पनि त्यही पुरातनवादी चिन्तनले ग्रस्त नेतृत्वको छायाँले सत्ता र शक्तीको बलमा ओझेल पारिदाँ नयाँ युगका नयाँ युवाहरुको मनोविज्ञान समकालिन नेतृत्वहरु प्रति अविश्वासी र अझ उदेकलाग्दो देखिन्छ । हिजो सम्म भगवान झै लाग्ने शिर्ष नेतृत्वप्रति जनताले घृणा गर्न थालेका छन् ।
उदाहरण नै उदाहरण मध्य पछिल्लो टुंडिखेल गौरापर्वको भब्य कार्यक्रममा देशको प्रधानमन्त्री र पुर्बप्रधानमन्त्रीप्रति जनताले पोखेको आवेगपुर्ण आक्रोशबाट पनि जनताको मनोविज्ञान कता जादैछ भन्ने बुझ्न सकिन्छ । यद्यपी, सो घटनालाई राम्रो भन्न सकिदैन तर नेतृत्वकर्ताले जनताका चाहनालाई लामो समयदेखि नजरअन्दाज गर्दाको परिणामबाट यस्ता अप्रिय घटनाको जन्म हुन्छ भन्ने कुरालाई पनि नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि र स्वयं नेतृत्वका लागी हितकर होईन ।
हामीले स्वीकार गर्नुपर्छ यतिबेला समाजको हरेक तहमा जताततै उकुस–मुकुस छ । यो जटिल अवस्थाको फाईदा उठाउने तत्वलाई शिर्ष नेतृत्वका कार्यब्यवहार बाटै मलजल भएका छन् । देश र जनताको जीवनस्तर जतिसुकै ओरालो लागेर भिरबाट खस्न थालेपनि अनेकौं–अनेक हथकण्डा अपनाएरै भएपनि जीवन रहुञ्जेल सत्ता र शक्तीको साँचो आफ्नै खल्तीमा राख्ने हरेक पार्टीका शिर्ष नेतृत्वको निरंकुश ब्यक्तिवादी चिन्तनले लोकतान्त्रिक गणतन्त्र समेत दिनदिनै बदनाम हुँदै आएको छ ।
नेतृत्वको जीवनस्तर दिनको दुई गुणा रातको चौगुणा हिसाबले परिवर्तन हुँदै जाने तर ती नेताले शासन गरेका जनताको जीवन स्तर अत्यन्तै कहाली लाग्दो अवस्थामा पुग्नुलाई अवश्य पनि लोकतन्त्र भनिदैन । यस्तो त दलाल पुँजीवादीतन्त्र भएन र ? राजनीतिक स्वतन्त्रता मात्रै लोकतन्त्र होईन । राजनीति स्वतन्त्रता सँग–सँगै जनताको जीवनस्तर र देशको दु्रत गतिमा प्रगति लोकतान्त्रिक गणतन्त्रको अभिन्न सर्त हो ।
यही सर्तका आधारशिलामा टेकेर मुलुकका मुख्य पार्टीहरुले बेला-बेलामा ठुला-ठुला आन्दोलन गरेका हुन् भन्ने कुरालाई समकालिन नेतृत्वहरुले सत्ता र शक्तिको मात लागेर भुलिदिँदा लोकतन्त्र कतै भंगालोमा पर्ने त होईन ? भन्ने चिन्ता यत्र–तत्र–सर्बत्र जाग्न थालेको स्थितीलाई अब ढाकछोप गरेर लुकाउन खोज्नु मुर्खता शिवाय अरु केही हुन सक्दैन ।
समकालिन नेतृत्वहरुले नेतृत्व हस्तान्तरण गर्न पनि नसक्ने र जनताको चाहानालाई बुझन पनि नसक्ने यहीँ अवस्था रहिरहने हो भने धमिलो पानीमा माछा मार्ने तत्वले भरपुर फाईदा उठाउँदै आक्रोशित जनता जगाउन सक्दैनन् भन्ने आधार छैन । यस्तो अप्रिय अवस्था आएको खण्डमा सत्ता र शक्तीका लागि जस्तोसुकै अवस्था आएपनि जस्तोसुकै सम्झौता गर्न खप्पिस हाम्रा दुस्शित चिन्तनले ग्रस्त शिर्ष नेतृत्वहरुको स्थिती बंगलादेशकी शक्तिशाली शासक शेख हसिनाको झैँ नहोला भन्न सकिदैन ।
अतः छोटा बढा सबै नेतृत्वकर्ताले समय छदै सच्चिने की सक्किने भन्ने कुरालाई अत्यन्त गम्भिरताका साथ मनन गर्दै जनताका मनोविज्ञानलाई इमानदारीका साथ समयमै आत्मसात गर्दै लोकतान्त्रिक पद्धतीलाई साँच्चिकै जनविश्वासिलो शासन बनाउन सक्किने होईन सच्चिनका लागि अझ बढी गम्भिर हुन जरुरी छ । (ओली समसामयिक विषयमा रहेर लेखहरु लेख्छन् । उनी दूरसञ्चार डटकमका प्रधान सम्पादक हुन् ।)