नेपालगन्ज : नेपालबाट भारतका विभिन्न सहरमा स्वीकृती बिनाका गाडी छ्याप-छ्याप्ती मात्रामा सञ्चालनमा रहेको पाइएको छ । नेपाल सरकारबाट स्वीकृती लिएर सञ्चालनमा रहेका साना प्रकृतिका गाडीहरु दैनिक रुपमा नेपालगन्जबाट दाङको तुलसीपुर घोराही हुँदै चल्दै आएका छन् । तर, दाङबाट नेपाल सरकारबाट कुनै स्वीकृती र रुट परमिट नबनाएर भारतको सिम्ला, चण्डीगढ, दिल्ली लगायत शहरका लागि अनाधिकृत रुपमा गाडीहरु सञ्चालन भइरहेको पाइएको हो ।
रुट परमिट बिना नियमित रुपमा गाडीहरु सञ्चालनमा आएपछि स्थानीय ब्यवसायीहरु मर्कामा परेका छन् । विशेषगरी साना प्रकृतिका हाईस, फोर्स, उइङ्गर जस्ता गाडीका ब्यवसायीहरु मर्कामा परेका छन् । ‘हामीले नेपाल सरकारलाई नियम अनुसार राजश्व तिरेर रोड परमिट लिएका छौं, कानुन र बिधि अनुसार आफ्ना सवारी साधन चलाईरहेका छौं,’ ब्यवसायी बिनोद रिजालले भने ‘हामीहरुलाई पर्न गएको नोक्सानीले गर्दा ब्यवसायबाट नै छोड्नुपर्ने स्थिती भएको छ ।
त्यसरी दाङ जिल्लाबाट भारतका विभिन्न सहरमा निर्वाध रुपमा चलिरहेका गाडीलाई तत्काल रोक्नुपर्ने उनको माग छ । नेपाल-भारत मैत्री नामक ति गाडीले दाङबाट नेपालगन्जसम्म आउने यात्रुलाई समेत अनाधिकृत रुपमा बोक्ने गरेकोको पाइएको ब्यवसायीले बताएका छन् ।
अनाधिकृत रुपमा यात्रु बोक्ने त्यस्ता गाडीलाई कारबाही गरी नेपाल सरकारको नीति नियममा चल्नका लागि बाध्यकारी बनाउन ब्यवसायीले जिल्ला प्रशासन कार्यालय बाँकेलाई आग्रह गरेका छन् । उनीहरुले सोही मागसहित बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई एउटा पत्र समेत बुझाएका छन् ।
यसरी पत्र बुझाउनेमा भेरी बस यातायात प्रालि नेपालगन्ज, शुभकामना सार्वजनिक यातायात प्रा.लि., बागेश्वरी यातायात प्रा.लि., नमस्ते नेपाल यातायात प्रा.लि, कागेश्वरी यातायात प्रा.लि., अनन्त सिद्धि बल्लब यातायात प्रा.लि., गोर्खाली यातायात प्रा.लि., नागरिक यातायात प्रा.लि., सेवा सगरमाथा यातायात, राधाकृष्ण यातायात प्रा.लि. र सनराईज यातायात प्रा.लि. रहेका छन् ।