नेपालगन्ज : लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले समाजमा ब्याप्त लागुऔषध दुर्व्यसनीको कुलतलाई कम गर्न पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । किशोर किशोरीलाई आर्कषित गराउन पढ्ने बानीको विकास गराउनतर्फ लाग्नुपर्ने उनको भनाई छ ।
१७ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा बाँकेको कोहलपुरमा आयोजित लागुपर्दाथ दुर्व्यसनी बिरुद्धको बृहत र्यालीको समापन समारोहमा बोल्दै मन्त्री कुर्मीले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री कुर्मीले पछिल्लो समय बालबालिकाहरु फुर्सदमा कुलतमा फस्दै गएको बताए । ‘आफूलाई दक्ष र सक्षम बनाउन घरदेखि नै पुस्तकप्रतिको मोहको विकास गराउन अभिभावक स्वयम लाग्नुपर्छ, सँग सँगै आफ्ना बाल, बच्चाको निगरानी गर्दै लागुपदार्थको दुर्व्यसनीबाट जोगाउने वातावरण निर्माण गर्नुपर्छ ।’
यस्तै कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले अभिभावककै कारण बालबालिकाहरुले असल शिक्षा र मार्गदर्शन नपाएको टिप्पणी गरे । नेपाल सामुदायिक पुस्तकालय महासंघ, लुम्बिनी प्रदेश समितिका अध्यक्ष चेतकान्त भट्टराईले निरन्तर शिक्षाका लागि पुस्तकालय अपिहार्य रहेको बताए । उनले पुस्तकालय दिवसलाई युवा पिँढी बीच लोकप्रिय बनाउन र पठन संस्कृतिको विकास गर्न आफूहरु लागि परेको बताए ।
‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने १७ औं राष्ट्रिय पुस्तकालय दिवसको पूर्वसन्ध्यामा नेपाल सामुदायिक पुस्तकालय महासंघ, लुम्बिनी प्रदेश समितिको आयोजना तथा ज्ञानोदय सामुदायिक पुस्तकालय, कोहलपुर, बाँसगढी सामुदायिक पुस्तकालय, बाँसगढी बर्दिया, त्रिभुवन सामुदायिक पुस्तकालय, कोहलपुर र महेन्द्र पुस्तकालय नेपालगन्जको सह-आयोजनामा निकालिएको उक्त र्यालीले कोहलपुर नगर परिक्रमा गरेको थियो । दिवसको अवसरमा शुक्रबार नै बृहत रक्तदान कार्यक्रम पनि गरिएको छ ।