नेपालगन्ज : ‘प्रथम आमन्त्रित अन्तर प्रदेश आईटिएफ तेक्वान्दो खुल्ला प्रतियोगिता’ बुधबारबाट बाँकेमा सुरु भएको छ । जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर २ मा रहेको शुक्र भलिबल स्टेडियममा उक्त प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ २०-२५ केजी तौल समुहमा राईका चौधरी पहिलो, स्मृति बुढा दोस्रो र कृष्मा सारुमगर तथा जेनिशा शाह तेस्रो भएका छन् । आयोजकका अनुसार बुधबार नै अन्य उमेर समुहका सेमिफाईनलका खेलहरु पनि सम्पन्न भएका छन् ।
मोडेल आईटिएफ तेक्वान्दो दो एकेडेमीको आयोजनामा सञ्चालनमा आएको उक्त प्रतियोगितामा लुम्बिनी, कर्णाली, सुदुरपश्चिम र कोसी प्रदेशका विभिन्न जिल्लाबाट आएका करिव २ सय ८० जना खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा पुरुष र महिलातर्फ उत्कृष्ट खेलाडी तथा समुहगत रुपमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई ट्रफी, प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष होमबहादुर सुनारले जानकारी दिए ।
प्रतियोगितामा जुनियर तथा सिनियर समुहमा महिला र पुरुषको समान ‘एकल स्पाईरिङ’ गराइएको उनले बताए । आयोजकका अनुसार पुरुषतर्फ ४५ केजी मुनि र महिलातर्फ ४० केजी मुनिको जुनियर तथा पुरुषतर्फ ४६ केजीभन्दा माथी र महिलातर्फ ४१ वर्षभन्दा माथीका सिनियर उमेर समुहलाई प्रतिस्पर्धा गराइएको छ ।
नेपालमा मार्सलाट मध्येको एक विधा आईटिएफ तेक्वान्दो लोकप्रिय बन्दै गइरहेको अवस्थामा यस प्रतियोगिता महत्वपूर्ण रहेको नेपाल अन्र्तराष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविणकुमार कार्कीले बताए । ‘खेलकुद गतिविधिलाई अगाडी बढाउनका लागि कुना काप्चामा लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउन तीनै तहका सरकारले लगानी गर्नुपर्छ,’ उनले भने । प्रतियोगिताले आसन्न दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि टेवा पुर्याउने उनको विश्वास छ ।
प्रतियोगिताको प्रमुख अतिथी एवम् खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिकले उद्घाटन गरेका थिए । उद्घाटन शत्रमा उपाध्यक्ष मञ्जु मल्ल, खजुरा-२ का वडाअध्यक्ष धनराम ओली, नेपाल अन्र्तराष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविणकुमार कार्की लगायतको उपस्थिती रहेको थियो ।