नेपालगन्ज : सर्वोत्कृष्ट लघु उद्यमी अनुजा सिंह राठौंरलाई लुम्बिनी प्रदेशबाट यसवर्षको ‘डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार’ प्रदान गरिएको छ । लुम्बिनी प्रदेशभरी रहेका करिव १ लाख महिला लघु उद्यमीलाई पछाडी पार्दै नेपालगन्ज, फुलटेक्रा निवासी अनुजाले नगद ५० हजारसहित प्रमाणपत्र प्राप्त गरिन् ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाबाट कर्जा लिएर २०७५ सालमा ‘अनुजा डेरी उद्योग’ सञ्चालन गरेकी उनले अहिले पाँच जनालाई रोजगारी दिइरहेकी छन् । ‘नेपालका लघुवित्तका पिता’ भनेर चिनिने निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडका संस्थापक डा. हरिहरदेव पन्तको नवौं स्मृति दिवसको अवसरमा शुक्रबार उक्त पुरस्कार प्रदान गरिएको हो ।
नेपालगन्जमा शुक्रबार एक समारोहका बीच प्रमुख अतिथी एवम् नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरे । प्रमाणपत्रमा डा. हरिहरदेव पन्त फाउण्डेशनका अध्यक्ष देवेन्द्रबहादुर राउत, सचिव यादवराज पाण्डे र कार्यकारी अधिकृत अञ्जु पाण्डेको हस्ताक्षर रहेको छ । नगर प्रमुख बिष्टले पुरस्कार हस्तान्तरण गर्दै निर्धन उत्थान जस्ता धेरै लघुवित्तले महिलाहरुको जीवनस्तर माथी उठाएको बताए । उनले भने, ‘केही लघुवित्तले गरेका गलत कामको दोष सबै माथी थोपार्नु उचित हुदैन ।’
पुरस्कार ग्रहण गरेपछि अनुजाले पुरस्कारले आफुलाई काम गर्न थप उर्जा मिलेको बताइन् । ‘सानो पुँजी लगाएर पनि उद्यमी बन्न सकिदोँ रहेछ, यो पुरस्कारले मलाई काम गर्न थप उर्जा दिएको छ,’ उनले भनिन् । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको बाँकेस्थित उदयपुर शाखामा आवद्ध रहेकी उद्यमी सदस्य अनुजा फुलटेक्रा महिला स्वावलम्बी समुहको सदस्य हुन् ।
पुरस्कार वितरण कार्यक्रममा नेपालगन्जकी अगुवा महिला उद्यमी कल्पना शर्माले निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाबाट आफुले पनि १० हजार कर्जा लिएर उद्योग÷ब्यवसाय सुरु गरेको बताइन् । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडका क्षेत्रीय प्रबन्धक मिनबहादुर हमालले मुल्यांकनका विभिन्न आधारबाट अनुजा लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट लघु उद्यमी घोषित भएको बताए ।
उनका अनुसार २०४७ सालमा स्थापना भएको उक्त संस्था लिमिटेडमा हाल देशभर करिव ४ लाख महिला उद्यमी आवद्ध रहेका छन् । पुरस्कार वितरण कार्यक्रममा प्रहरी निरीक्षक हिमालय शाह, नागरिक राष्ट्रिय दैनिकका संवाददाता अर्जुन ओली, सेतोखरी डटकमका कार्यकारी सम्पादक विजय मल्ल लगायत अतिथीको उपस्थिती रहेको थियो ।