काठमाडौं : प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) अन्तर्गतको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) सिंगापुरको निगरानीमा रहेका एक नेपालीसँग सम्बन्ध देखिएका नेपाल प्रहरीका डिएसपी हेमबहादुर शाही अनुसन्धानमा तानिएका छन । कालीकोट स्थायी घर भई हाल मलेसियामा रहेका, विवादास्पद पृष्ठभूमि भएका र आतंकवादी क्रियाकलापमा जोडिएका महेन्द्रजंग शाहसँग मलेसियामा सँगै देखिएपछि डिएसपी शाही अनुसन्धानमा तानिएका हुन ।
इन्टरपोलको एनसिबीले तीन जनाको विवरण माग गरेपछि शाही अनुसन्धानमा तानिएको खुलेको हो । एनसिबीले साउन ९ गते नेपाल प्रहरीलाई पत्राचार गरेपछि यो विषयमा प्रहरी प्रधान कार्यालयले पनि अनुसन्धान गरेको छ । शाहीका सबै विवरण इन्टरपोललाई पठाएको प्रहरीले जनाएको छ ।
‘एनसिबीले डिएसपीसहित तीन नेपालीको विवरण मागेको थियो । हामीले पठाइदिएका छौं, साथै नेपाल प्रहरीले पनि यो विषयमा अनुसन्धान गरिरहेको छ,’ नेपाल प्रहरी इन्टरपोल शाखामा रहेका एक प्रहरी कर्मचारीले भने । सिंगापुर इन्टरपोलले नेपाल प्रहरीलाई पठाएको पत्रमा लेखिएको छ, ‘उनीहरूको गतिविधि के–कस्तो छ ? कुनै आपराधिक घटनामा संलग्न भएको जानकारी छ भने उपलब्ध गराइदिनुहोला । र, आतंकवादमा संलग्न व्यक्ति तथा समूहका लागि आर्थिक गतिविधि गर्ने र सिंगापुरसँग जोडिएको विषयमा जानकारी छ भने त्यो पनि उपलब्ध गराइदिनु हुन अनुरोध छ ।’
नेपाल प्रहरीसँग सिंगापुर प्रहरीले डिएसपी शाही, कैलालीका दीपेन्द्रबहादुर शाह र कालीकोटका महेन्द्रजंग शाहको पृष्ठभूमि र अन्य विवरण मागेको थियो । एनसिबी सिंगापुरले साउन ९ मा पत्राचार गरेको थियो । प्रहरी प्रधान कार्यालयले त्यसको जबाफ पनि पठाइसकेको छ । सिंगापुर प्रहरीको पत्रमा उनीहरूका गतिविधि, कुनै आपराधिक घटनामा संलग्नता, आतंकवादमा संलग्न व्यक्ति तथा समूहका लागि आर्थिक गतिविधि गर्ने र सिंगापुरसँग जोडिएको विषयबारे जानकारी पठाउन आग्रह गरेको थियो ।
महेन्द्रजंग लामो समयदेखि मलेसियामा बस्दै आएका छन । उनी एनआरएन मलेसियाका पूर्वअध्यक्षसमेत हुन । दीपेन्द्रबहादुर माओवादी केन्द्रका स्थानीय नेता भएको स्रोतले जनाएको छ । महेन्द्र र दीपेन्द्र नजिकका नातेदार पनि हुन । दीपेन्द्र गत स्थानीय तह निर्वाचनमा बाँकेको बैजनाथ गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत थिए ।
गत जेठ ३२ गते उनी महेन्द्रकै सहयोगमा १० दिन सिंगापुर भ्रमणमा गएका थिए । त्यहीबेला उनीहरूबीच मलेसियमा भेट भएको थियो। मलेसियाबाट सिंगापुर जाँदा सीमा क्षेत्रबाट महेन्द्रलाई सिंगापुर अध्यागमनले प्रवेश निषेध गर्यो । साथमा डिएसपी शाहीलाई पनि सिंगापुर प्रवेशमा रोकिएको स्रोतको दाबी छ । ‘सिंगापुर र मलेसियाको प्याकेज टुर रहेछ । डिएसपी हेमबहादुर शाही र महेन्द्रजंग शाहलाई सिंगापुर अध्यागमनले रोकेपछि मलेसिया नै फर्केका रहेछन,’ प्रहरी स्रोतले भन्यो ।
महेन्द्रजंगसँगै सिंगापुर अध्यागमन नोटिसमा परेका डिएसपी शाही मलेसियाबाट नेपाल फर्केको एक महिनापछि इन्टरपोल प्रहरीले उनीहरूको विवरण मागेको थियो । महेन्द्रजंगले कुनैबेला काठमाडौं थानकोटका इन्द्रवीर महर्जनसँग तीन लाख रूपैयाँ तथा नवलपरासी बेल्डियाका ओमबहादुर मल्लसँग १४ हजार आरएम लिएर नक्कली भिसा लगाएको विषयमा मलेसिया प्रहरीले प्रवेशमा रोक लगाएको हो । -नागरिकन्युजबाट साभार