काठमाडौं : नेप्से परिसूचक आइतबार दोहोरो अंकले घटेको छ । नेप्से २५.४६ अंकले घटेर २७०१.९० विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकममा वृद्धि भएको छ । बिहीबार ९ अर्ब ६५ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १० अर्ब १२ करोडको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४७ करोड रूपैयाँ वृद्धि भएको हो । यसदिन ३२८ वटा धितोपत्रको दुई करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर किनबेच भएको हो । आइतबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ वटाको घटेको छ । यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यसदिन महुली लघुवित्त, श्रीजनशील लघुवित्त र मिड सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः एक हजार ६३९, दुई हजार १७८ र एक हजार पाँच रूपैयाँ ४० पैसा कायम भएको छ । यस्तै, थ्री स्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १२ रूपैयाँ ५० पैसामा झरेको छ । कुमारी इक्विटी फण्डको मूल्य ८.०७ प्रतिशतले घटेको छ । उक्त योजनाको मूल्य नौ रूपैयाँ कायम भएको छ ।
आइतबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९६३ रूपैयाँमा ४२ करोड १९ लाखको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५.८२ प्रतिशत बढेको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको संस्थापक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता १६० रूपैयाँ ९० पैसामा ३५ करोड ८१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ । यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक १।२१ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको परिसूचक सर्वाधिक २।०७ प्रतिशतले घटेको छ ।