नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु भएपछि आफन्तले शब बुझ्न मानेका छैनन् । कैलाली, गौरीगंगा-९ मसुरिया निवासी २३ वर्षीया कमला धामीको शल्यक्रिया गरेर दुई दिनअघि पेटबाट जुम्ल्याहा बच्चा (छोरा)निकालिएको थियो ।
शल्यक्रिया पश्चात सामान्य अवस्थामा रहेकी उनी एक्कासी बेहोस भएकी थिइन् । सामान्य अवस्थाकी सुत्केरी एक्कासी बेहास् भएको र चिकित्सकको लापरबाहीकै कारण मृत्यु हुन पुगेको भन्दै शव नबुझ्ने मृतकका जेठाजु रमेशबहादुर धामीले बताए ।
प्रशव पीडाले सताएपछि कमलाका श्रीमान र जेठाजुले सुरुमा असोज २७ गते कैलालीस्थित सेती अस्पतताल धनगढी पुर्याएका थिए । त्यहाँको अस्पतालले शिक्षण अस्पताल कोहलपुरमै रेफर गरेपछि असोज २८ गते बिहान ३ बजेतिर ल्याएर भर्ना गरेका थिए । डाक्टरसँगको सल्लाह, परामर्श अनुसार असोज २९ गते अपरान्ह ४ बजेतिर कमलालाई शल्यक्रिया कक्षमा लगिएको थियो ।
‘शल्यक्रिया गरेर जुम्ल्याहा छोरा जन्मियो, बेलुका ६ बजेतिर बुहारीलाई नर्मल वार्डमा ल्याएर सारियो,’ जेठाजु रमेशले भने ‘त्यसपछि बेलुका ७ बजेतिर बुहारी एक्कासी बेहोस् भइन्, हामी अत्तालियौं, डाक्टरलाई खोज्यौं, बल्लतल्ल राती १० बजे मात्र नर्सले आईसियुमा राखे ।’ रमेशका अनुसार अप्रेशन पश्चात कमलाले आफन्तसँग कुराकानी समेत गरेकी थिइन् । आफुहरुले अस्पताल डाक्टरलाई काठमाडौंको अस्पतालसँग कुरा गरिदिन र हेलिकप्टरबाट भएपनि कमलालाई काठमाडौंको अस्पतालमा लैजान तयार रहेको बताउँदा पनि बेवास्ता गरेको उनको आरोप छ ।
आइसियुमा भर्ना भएकी बुहारीको होस् नखुलेरै मृत्यु भएको र कुन समयमा मृत्यु भयो भन्ने समेत आफुहरुलाई अस्पतालले जानकारी नदिएको रमेशले बताए । ‘बेहोस् के कारणले भएको हो, मृत्यु किन भयो ?’ भन्ने प्रश्न डाक्टर र नर्ससँग बारम्बार राख्दा पनि एकिन जवाफ पाउन नसकेको उनले सुनाए । ‘कहिले ब्लडमा इन्फेक्सन, कहिले मुटुले काम गरेन, कहिले सुगर समस्या जस्ता बहाना बनाएर डाक्टर पन्छिने काम गर्दैछन्, अस्पतालले यसको सत्य तथ्य कुरा बाहिर नल्याउँदासम्म र यसको छानविन नहुँदासम्म हामी शव बुझ्दैनौं,’ उनले भने ।
कमलाको मृत्यु भएपछि उनका श्रीमान बेहोस भएको रमेशले सुनाए । अस्पतालले अटेरी गरेमा आफुहरु कानुनी प्रक्रियामा समेत जान बाध्य हुने उनको चेतावनी छ । आमाको मृत्यु भएपछि जुम्ल्याहा बच्चाको हेरचाहमा समस्या आउने आफन्तको चिन्ता छ । सुत्केरीलाई आइसियुमा भर्ना गरेको दुई दिन भन्दाबढी समय भइसक्दा पनि अस्पतालले मृत्युबारे लिखित रुपमा जानकारी दिन नसकेको र अहिले पनि कृत्रिम श्वास दिइरहेको आफन्तले बताएका छन् । तर, डाक्टर स्वयंले मृत्यु भइसक्यो भन्ने जवाफ दिइसकेको रमेशले सुनाए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासकीय अधिकृत सन्जु पन्तले सुत्केरीको ‘ब्रेन डेथ’ भयो भन्नेबारे आफुले सामान्य जानकारी पाएको र सम्बन्धित डाक्टरको टिमसँग बुझ्ने काम गरिरहेको बताए । ‘अप्रेशन गरेर जुम्ल्याहा बच्चा निकालिएको रहेछ, पछि सुत्केरीको स्वास्थ्यमा ब्लड प्रेसर लगायत विभिन्न समस्या देखियो र तत्कालै आइसियुमा राखेर उपचार गर्दापनि बचाउन सम्भव नभएको कुरा सुनेको छु, विस्तृत कुरा बुझ्दैछु,’ उनले भने ।