ललितपुर : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देशमा लोकतन्त्र आएको लामो समय भइसक्दा पनि सञ्चार क्षेत्र महेन्द्रकालीन काुननका भरमै चलिरहेको बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १८ औँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री गुरुङले २०४८ सालमा बहुदलीय प्रजातन्त्र र २०६३ सालमा लोकतान्त्रिक व्यवस्था आए पनि सञ्चार क्षेत्रका अधिकांश कानुन महेन्द्रकालीन समयका रहेको बताए ।
सञ्चार तथा सूचना प्रविधी क्षेत्रका केही कानुन नयाँ बने पनि अधिकांश काुनन दशकौँ पूराना रहेकाले यो क्षेत्रमा धेरै समस्या रहेको उनले बताए । उनलेे अगाडी भने, ‘म सञ्चार मन्त्री बन्न पाउँछु भन्ने पनि थिएन, मैले बन्न चाहेको पनि थिएन, तर यहाँ आएपछि यो मन्त्रालय अन्तर्गतको क्षेत्र कसरी चलेको रहेछ भन्ने थाहा पाएर म छक्कै परेँ ।’
अबको १ वर्ष नीतिगत सुधारलाई पहिलो प्राथमिकता दिएर अघि बढ्ने निधो गरेर काम पनि थालेको उनले जोड दिए । अब त्यसैअनुसार सञ्चार क्षेत्रका कानुन निर्माण र परिमार्जन गर्ने विषयलाई सरकारले मुख्य प्राथमिकता दिन थालेको मन्त्री गुरुङले बताए। बहुदलीय प्रजातन्त्र पछिका बर्षहरुमा नेपालमा संघ संगठन तथा सञ्चार माध्यम खोल्ने ठुलो लहर आएको तर आवश्यकता र दीगोपनको लेखाजोखा नगरिएकाले अहिले समस्या आएको उनको भनाइ छ ।
उद्घाटन कार्यक्रममा नेपाली काँँग्रेसका केन्द्रिय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस संगठनका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका विश्वमणि सुवेदी लगायतले शुभकामना व्यक्त गरेका थिए । सो क्रममा अकोराबका अध्यक्ष अर्जुन गिरीले मन्त्री गुरुङलाई मायाको चिनो स्वरुप रेडियो हस्तान्तरण गरेका थिए ।