दाङ (भालुबाङ) : लुम्बिनी प्रदेश सरकारलाई काममा सल्लाह, सुझाव र सहयोग गर्न नेपाली कांग्रेसले राजनीति निर्देशक समिति बनाउने भएको छ । उक्त समितिले कांग्रेस र एमालेको बीचमा साझा नीति तथा कार्यक्रम पनि बनाउनेछ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको देउखुरीमा बसेको बैठकले सभापति अमरसिंह पुनको नेतृत्वमा ५ सदस्यीय समिति बनाउने निर्णय गरेको हो ।
उक्त समितिमा अन्य चार जनाको नाम पछि चयन हुने प्रदेश सभापति पुनका स्वकिय सचिव अनुपम जिसीले जानकारी दिए । कांग्रेसको बैठकबाट निर्देशक समिति बनाउने निर्णय भएपछि एमालेसँग वार्ता, संवाद, छलफल गरेर समिति दुई दलको संयुक्त बनाइने छ ।
सरकारले रचनात्मक काम गरेर देखाउनको लागि निर्देशक समितिले सहयोग गर्ने सभापति पुनले बताए । समितिमा संसदीय दलको नेतालाई अनिवार्य राखिएको छ भने अरु पार्टीका नेता मात्रै हुनेछन् ।
सभापति पुनले भने, 'कांग्रेस-एमालेको गठबन्धन सरकार छ, यसलाई असफल हुने छुट छैन, काम गरेर देखाउनैपर्छ, त्यसको लागि सरकारको काममा सघाउन, गाईड गर्न, दुई दलको साझा नीति तथा कार्यक्रम बनाउन र जनतालाई प्रदेश सरकारको प्रत्याभूति दिलाउन निर्देशक समिति बनाउन लागेका हौं ।’