नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ की रजनी कनौजियाले छोराको रुपमा जन्म लिइन् । जिल्ला प्रशासन कार्यालय बाँकेले उनलाई पुरुष नै किटान गरेर नेपाली नागरिकतता प्रमाणपत्र दियो । राजेन्द्र धोबीको नामबाट नागरिकता लिएकी उनले भने महिलाको रुपमा आफ्नो पहिचान देखाएकी छन् ।
महिला वा तेस्रो लिंगीको पहिचानबाट नागरिकतता लिने प्रयास गर्दा पनि प्रशासनले जबरजस्ती पुरुष नै किटान गरेर नागरिकता दियो । नागरिकता दिदाँ राज्यले विभेद त गर्यो नै परिवारबाट पनि उनी विभेदमा परिन् । तर, दशकौंको संघर्षपछि उनले आफ्नो लैंगिक पहिचान स्थापित गराउन सफल भएकी छन् ।
‘जिल्ला प्रशासन कार्यालयले मलाई पुरुष किटान गरेर नागरिकता प्रमाणपत्र दिएको छ, म पुरुष भएर जन्मिएपनि मैले आफुलाई महिलाको रुपमा पहिचान गराए,’ उनले भनिन् ‘महिलाको पहिचान गराउन खोज्दा परिवारभित्र संघर्ष गर्न मलाई दशकौं समय लाग्यो, अहिले आएर परिवारले पनि मेरो कुरालाई स्वीकार गरेको छ, म आफ्नो पहिचानमा अडिग छु ।’
आफ्नै ठाउँमा नागरिकता टोली आएका बेला उनले १८ वर्षको उमेरमा नागरिकता प्रमाणपत्र बनाएकी थिइन् । पुरुषको रुपमा नागरिकता पाएपछि बैंक खाता खोल्ने लगायत विभिन्न काममा सजिलो भएपनि आफुलाई असजिलो लागेको उनी बताउँछिन् ।उमेरका हिसाबले अहिले ५८ वर्ष पुगेकी उनले जीवनमा गरेको संघर्ष कम छैन ।
परिवारका ३ दाजुभाई र ५ बहिनी मध्ये उनी सबैभन्दा जेठो छोरा थिइन् । परिवारको जेठो छोरा भएकाले उनीप्रति बुवाआमाको विश्वास बढी थियो । उमेरले १६ वर्ष टेक्ने बित्तिकै परिवारमा बिबाह गर्ने कुरा चल्यो । आफु छोरा भएर जन्मेपनि आफ्नो पहिचान छोरीका रुपमा गराउन चाहन्थिन्, उनी । केटी सँग नै बिबाह गर्नुपर्ने परिवारको ढिपीका बीच रजनीले मुस्लिम समुदायका एक जना (पुरुष) युवासँग बिबाह गरिन् ।
त्यसपछि उनी घर परिवारलाई नै त्यागेर बाहिर बसिन । करिव ३÷४ वर्ष ति युवासँग दाम्पत्य जीवन बिताएपनि उनीहरुबीचको सम्बन्ध दिगो हुन सकेन । सम्बन्ध दिगो हुन नसकेपछि उनी अलग भइन् र घर परिवारको सम्पर्कमा आईन । ‘त्यसपछि त घर परिवारले केटी खोजेर बिबाह गरिदिए, परिवारको करकापमा भएको थियो यो बिबाह,’ उनले भनिन् ‘केही वर्षसम्म श्रीमतिप्रति कुनै फिलिङ नै आएन, मैले महिलासँग बिबाह गरेपनि म आफु पनि महिलाकै रुपमा रहन्थ्ये ।’
बिबाहको केही वर्षपछि पहिलो सन्तान छोरा जन्मिए । त्यसपछि उनले सुत्केरी श्रीमति र छोरालाई भारतको नानपारास्थित ससुराली घरमा लगेर छाडे र आफु रोजगारीका लागि भारतमै बसिन । करिव दुई वर्षपछि उनले ससुरालीबाट श्रीमती र छोरालाई लिएर नेपालगन्जस्थित घरमा राखे ।बैबाहिक सम्बन्धमा धेरै उतार–चढाएहरु आए । तरपनि परिवार र समाजका लागि उनले श्रीमतिसँग बस्न थालिन् ।
अहिले उनको साथमा २ छोरा र २ छोरी छन् । यि मध्ये २ छोरा र एक छोरीको बिबाह भईसकेको छ । बिबाह भएका छोरा छोरीबाट नाति, नातिना समेत उनले देखिसकेकी छन् । तर, उनले आफुलाई महिलाको रुपमा पहिचान गराएकी छन् । ‘घर, परिवारले अहिले मेरो समस्या बुझेका छन्, म अहिले महिलाकै पहिचानमा छु,’ उनले भनिन् ‘महिलाकै पहिचानबाट नागरिकता लिने चाहना भएपनि त्यो सफल हुन सकेन, तरपनि परिवार र समाजका सामु महिलाकै रुपमा चिनिएकी छु ।’ वरिपरका कतिपय छिमेकीले अहिले उनलाई दिदी र अन्टी भनेर बोलाउँछन् ।
अहिले उनी घरमा मात्र सिमित छैनन् । आफु जस्तै पारलिंगी समुदायको हक, अधिकारका लागि वकालत गर्न सक्ने भएकी छन् । नेपालगन्जमा रहेको पश्चिम तारा नेपालको उनी अध्यक्ष हुन् । संस्थामा लागेर काम गर्दा आफुले समुदायका धेरै ब्यक्तीलाई भेट्ने अवसर पाएको रजनी बताउँछिन् । ‘समुदायमा धेरै ब्यक्तीहरु छन्, तर खुल्न सकिरहेका छैनन्,’ उनले भनिन् ‘परिवार र समाजको गलत बुझाई, समाजबाट विभेदको सिकार हुने उनीहरुलाई डर छ ।’ कतिपय बुझेका र शिक्षित ब्यक्तीले भने क्रमशः आफ्नो पहिचान खुलाउन थालेको उनी बताउँछिन् ।