राप्ती सोनारी : नेपाली कांग्रेस बाँकेको पार्टी संगठन सुदृढीकरण अभियान राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर २ मा सुरु भएको छ । 'जेष्ठ नागरिक, महिला र युवाको योगदानस् पार्टी संगठन सुदृढीकरणमा बाँके काँग्रेसको अभियान' सुरु गरिएको हो ।
नेपाली काँग्रेस राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का सभापति नन्दलाल बस्नेत र नेपाली काँग्रेस बाँकेका प्रतिनिधि एवम जिल्ला प्रवक्ता डिल्ली गिरीको प्रमुख आतिथ्यतामा अभियान सुरु गरियो ।
चार महिने अभियान अन्तर्गत वडा तहमा टोल भेला र बैठक गर्ने, बडा दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने, साधारण सदस्यता तथा नबिकरण कार्ड वितरण गर्ने, जेष्ठ नागरिक सम्मान, युवा लक्षित भलिबल खेल प्रतियोगिता, सामुदायिक वनका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेला गर्ने, सामुदायिक वनका महिलाहरूको हाजिरीजवाफ प्रतियोगिता, जनप्रतिनिधिसंग भेला, शुभेच्छुक तथा भ्रातृ संस्थाका प्रतिनिधिसंग भेला, प्रशिक्षण कार्यक्रम र वडा सम्मेलन गर्ने निर्णय गरिएको छ ।
अभियानलाई सार्थक बनाउन भाषण केन्द्रित भन्दा पनि छलफल, विमर्श र अन्तरक्रियामा जोड दिइने गिरीले बताए । गाउँपालिका सभापति भिमबहादुर रानाक्षेत्रीले कांग्रेसले गाउँ गाउँमा आफ्ना कार्यक्रम ल्याउनुपर्ने बताए ।