नेपालगन्ज : वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले ‘बैकुण्ठधाम आध्यात्मिक महोत्सव’ लाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिएका छन् । आगामी कात्तिक २२ गते देखि ३० गतेसम्म नेपालगन्जको रामलिला मैदानमा बैकुण्ठधाम आध्यात्मिक महोत्सव हुदैछ ।
मुल समारोह समितिले शनिबार बिहान नेपालगन्जमा गरेको पत्रकार भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा कथावाचक पोखरेलले बैकुण्ठधाम आध्यात्मिक महोत्सवप्रति सबै बाँकेबासीले अपनत्व लिन सक्ने गरी समन्वय र सहकार्य गर्न आयोजक पक्षलाई सुझाव दिए ।
‘केही समयअघि म आउँदाखेरी यसको समावेशीताको विषयमा कुराहरु उठेको थियो, त्यसलाई सम्बोधन गर्ने गरी विभिन्न उपसमितिहरु बनेका छन्, अझैपनि सम्बोधन गर्ने हिसाबबाट समावेशी होस्,’ उनले भने । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले आध्यात्मिक महोत्सवलाई सबै बाँकेबासी मिलेर सफल पार्नुपर्ने बताए । 'यो महोत्सवप्रति सबैले अपनत्व लिनुपर्छ,' विष्टले भने ।
नेपालगन्जका वरिष्ठ समाजसेवी अजितकुमार शर्माले बाँकेमा अन्तिम संस्कार गर्ने राम्रो ठाउँको अभाव भइरहेका बेला बैकुण्ठधाम निर्माण हुनु स्वागतयोग्य कुरा भएको बताए । ‘जसरी साथीहरुले यो कामको सुरुवात गर्नु भएको छ, मेरो दृष्टिकोणमा यो नितान्त प्रशंसनीय कार्य हो, हामी सबैले सहयोग पुर्याउनुपर्छ,’ उनले भने ।
मुल समितिका संयोजक डा. सुरेशकुमार कनोडियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह-संयोजक भोला महत, महिला अगुवा रिचा द्धुवेदी लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन श्रीराम सिग्देलले गरेका थिए ।