नेपालगन्ज : आज बडादसैंको आठौं दिन महाअष्टमी हो । यो नवरथामध्येमा पर्ने एक विशेष तिथि हो । नवरथामा विशेष गरी देवीको पूजाआराधना हुने गर्छ । महाअष्टमीको रातलाई कालरात्रि पनि भनिन्छ । अन्य दिनमा झैं महाअष्टमीका दिन भक्तजन शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरमा जान्छन ।
महाअष्टमीमा काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्यश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, बिजेश्वरी, इन्द्रायणी, नरदेवी, बज्रवाराही, रक्तकाली, संकटा, बंगलामुखीलगायत शक्तिपीठमा बलि चढाउने र पूजाआराधना गर्ने प्रचलन रहेको छ । भागवत, मार्कण्डेय पुराणलगायतमा देवीको सृष्टिबारे धेरै निरूपण गरिएको छ ।
वर्षमा विशेषगरी चारवटा नवरात्र हुन्छन् चैत्र शुक्लपक्ष, असार शुक्लपक्ष, आश्विन शुक्लपक्ष र माघ शुक्लपक्ष। त्यसमा पनि नेपालीहरूको परम्परा, संस्कृतिका साथै विविध कारणले शरदकालको पूजाको विशेष महत्व भएकाले पनि यो समयको अष्टमी वा महाअष्टमीको धेरै महत्त्व रहेको उपप्राध्यापक डा. पुरुषोत्तम भट्टराई बताउँछन ।
दसैं भन्नेबित्तिकै हामी सबैले यसको सांस्कृतिक महत्व बुझेकै छौं । विगतमा मानिसहरू आर्थिक वा केही कारणवश दसैं मनाउन नसकेको खण्डमा राज्य वा साथीभाइ, समाज मिलेर सद्भाव बाँड्ने गर्थे । नसकेका मानिसहरूले पनि दसैं मनाउन सक्ने व्यवस्था समाजले नै गथ्र्यो,’ उनी भन्छन ।
दसैंमा सबैले मिठो खानुपर्छ, राम्रो लाउनुपर्छ, सबैमा सन्तोषको अनुभूति हुनुपर्छ भन्ने मान्यता छ । धार्मिक महत्वका दृष्टिले हेर्दा दसैं यो शक्ति आर्जन गर्ने समय पनि हो । देवीको आराधना गर्नु भनेको शक्तिको आराधना गर्नु हो । शक्तिबिना केही सम्भव छैन । पुराणहरूमा उल्लेख भएअनुसार ब्रह्मा, विष्णु र महेश्वरबाट हीन भए पनि शक्तिबाट हीन हुनुहुँदैन ।
‘देवीको कृपाबिना संसार चल्दैन । महासप्तमीको दिन नवपत्रिका भित्र्याइसकेपछि महाअष्टमीमा अझै विशेष आवरणको पूजा हुन्छ,’ उपप्राध्यापक डा. भट्टराई भन्छन् । उनका अनुसार प्रतिपदाको दिनमा जसरी विधिपूर्वक देवीको स्थापना, आह्वान र पूजा गरिन्छ, महाअष्टमीको दिनमा पनि त्यसरी नै नित्य पूजा हुन्छ । यसमा विशेषगरी वस्त्र, आभूषण देवीलाई चढाउने, नौ वर्षकी कन्याको पूजा गर्नेलगायत विधि पूरा गरिन्छ ।
महाअष्टमीको रातलाई कालरात्रि भनिन्छ, जसमा देवी, गणेश, कलशलगायत अंग देवताको स्थापना गरी पूजा गरिएको ठाउँमा प्रधान देवताको विशेष पूजा हुन्छ । सप्तमीको दिनमा भिœयाइएको नवपत्रिकाबाट कालरात्रिमा पनि पूजा गर्ने विधान छ । साथै सोही दिन शस्त्रअस्त्रको पनि पूजा हुन्छ । खुकुरी, खुँडा, तरबारलगायत हातमा लिएर प्रयोग गरिनेलाई शस्त्र भनिन्छ भने धनुषबाणलगायत टाढैबाट प्रहार गर्न मिल्नेलाई अस्त्र भनिन्छ ।
शस्त्रअस्त्रको पूजा गरिसकेपछि बलिको विधान पनि हुन्छ । बलि कसरी र के दिने भने विषयमा पहिला दरबारबाट निर्णय गरिन्थ्यो। अहिले राज्यका तर्फबाट हनुमानढोकामा पशुबलि दिइन्छ । ‘प्रतिनिधि बलिको विधान वर्णनअनुसार हुन्छ। यदि कोही शाकाहारी भए कुस्मान्डा र इछुदन्ड आदि बलि दिइन्छ,’ उपप्राध्यापक डा. भट्टराई भन्छन, ‘त्यो भनेको कुभिन्डो, उखु, मुला, बेल, नरिवल, केरा, घिरौंलालगायत हुन । बलिलाई उपहारको रूपमा पनि लिइन्छ । बलि दिँदा देवीको प्रिय वस्तु दिने चलन पनि छ ।’
महाअष्टमीकै दिन हामीभित्रको काम, क्रोध, लोभ, मोह, मद, मास लगायतका षटशत्रु (आफूभित्र भएका ६ वटा शत्रु) नाश गर्न पनि बलि दिने भन्ने विश्वास रहिआएको छ । सोही कारण कामको प्रतीकका रूपमा बोको, क्रोधको प्रतीकका रूपमा राँगो र मोहको प्रतीकका रूपमा हाँसको बलि दिइन्छ ।
दसैंका अन्य दिनको तुलनामा महाअष्टमीको विशेष महत्व हुनुको अर्को कारण भनेको कालरात्रि पनि हो । अन्य दिनमा बिहान मात्र पूजा हुन्छ भने यस दिन रात्रिको समयमा पनि पूजा र हवन हुन्छ । उपप्राध्यापक डा. भट्टराईको भनाइमा विगतको तुलनामा अष्टमी मनाउने विधिमा खासै फरक आएको देखिँदैन । जसले धार्मिक रूपमा शास्त्रीय पक्षलाई मात्र समेटेर पूजापाठ गर्छ, उनीहरूमा खासै भिन्नता छैन । साँस्कृतिक पक्षमा मानिसहरू चाडसँग जोडिन चाहने तर शास्त्रलाई ध्यान नदिने प्रचलन बढेको छ ।
सबैले शास्त्रीय पक्ष नै अँगालेका छन भन्न सकिने अवस्था छैन । कतिपयले अरूको देखासिकीमा मात्रै बलि चढाउने, हवन गर्ने गरेका उदाहरण पनि छन । महाअष्टमीका दिन काठमाडौं तलेजु भवानीको मन्दिर पनि सर्वसाधारणका लागि खुला हुन्छ । यसै दिन दसैंघर (हनुमानढोका) को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यति नै बोका बलि दिइन्छ ।
सोही दिन सुदूरपश्चिमको प्रमुख शक्तिपीठ निंगलासैनी मन्दिरमा करिब एक हजार ३ सय राँगा र ४ सयवटा बोकाको बलि चढाइन्छ । उपप्राध्यापक डा. भट्टराईका अनुसार धर्मको क्षेत्रमा अहिले अलि विचलन छ । सनातन पद्धति र धर्म संस्कृतिप्रति अतिक्रमण भएको देखिन्छ । धर्मप्रति अनास्था फैलाउने क्रम पनि बढेको छ । दसैं सबै हिन्दु र बौद्ध धर्मावलम्बीले मनाउँछन । हाम्रो समाज धार्मिक समन्वय भएको समाज हो ।
दसैं मनाउने भनेको असत्यमाथि सत्यको जित चाहना, सत्यका पक्षधरहरूले मनाउने पर्व हो । जस्तै– राक्षसी प्रवृत्तिविरुद्ध लाग्नेहरूले दसैं मनाउँछन । देवीले राक्षसहरूलाई विजय प्राप्त गरेको खुसीयालीमा मनाउने पर्व हो, दसैं । इतिहासमा उल्लेख भएअनुसार उनीहरूले समाजमा विकृति फैलाएका थिए, धर्म–संस्कृतिमाथि अतिक्रमण गरेका थिए, नारीमाथि आफ्नो स्वामित्त्व स्थापना गरेका थिए । त्यस्तो प्रवृत्तिलाई हटाएर समाजको मर्यादा स्थापना गरेको खुसीयालीमा पनि दसैं मनाउँदै आएको विश्वास छ ।
साथै राम र रावणको प्रसंगसँग पनि दसैं जोडिएको छ । रावणले समाजमा अत्याचार फैलाउँदा रामले दैवशक्तिद्वारा रावणको वध गरेका थिए । जुनसुकै पौराणिक पक्ष जोडिए पनि सबैमा सत्यको पक्षमा लाग्न आह्वान गरेको र विजयी भएको हुँदा असत्यमाथि सत्यको विजय भएको सन्दर्भमा नेपालीहरूले दसैं मनाउँदै आएका छन ।