बाँके (अगैया) : समृद्धिका लागि सञ्चार नेपालद्धारा सञ्चालित रेडियो भूवर भवानी ९८.८ मेगाहर्जले स्थापनाको पाँच वर्ष पुरा गरेको छ । रेडियो शनिबार पाँच वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको हो । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ अगैयामा २०७६ कात्तिक १० गतेबाट रेडियोले आफ्नो प्रशारण यात्रा सुरु गरेको थियो ।
ग्रामिण क्षेत्रका नागरिकलाई बिद्युतीय सञ्चार सेवा पुर्याउने उद्देश्यले सामुदायिक अवधारणामा उक्त रेडियो स्थापना भएको थियो । रेडियोलाई बाँकेसहित दाङ, सल्यान, भारतको श्रावस्ती जिल्ला लगायत स्थानका श्रोताले सुन्दै आएका छन् । यसका साथै नेपाली पात्रो एप्सबाट पनि विश्वका जुनसुकै कुनाबाट प्रत्यक्ष रुपमा सुन्न पाइरहेको रेडियोका कार्यकारी प्रमुख अर्जुन ओलीले बताए । ‘हाम्रा श्रोताले रेडियो भूवर भवानीलाई रेडियो सेटबाट मात्र नभएर नेपाली पात्रो एप्सबाट पनि प्रत्यक्ष रुपमा सुन्न पाउनु भएको छ, कतिपय कार्यक्रम सामाजिक सञ्जाल फेसबुकबाट पनि सुन्ने ब्यवस्था मिलाएका छौं,’ उनले भने ।
रेडियोले स्थानीय भाषा, सँस्कृति संरक्षणमा समेत विशेष जोड दिदै आएको जनाएको छ । रेडियोबाट हाल नेपाली र थारु भाषामा मनोरञ्जनात्मक, समाचार मूलक, अन्र्तवार्ता मुलक र जानकारी मूलक कार्यक्रम प्रशारण भइरहेको स्टेशन म्यानेजर बिमला चौधरीले बताइन् । ‘नेपाली सञ्चार माध्यमको पहुँचमा पुग्न नसकेका ग्रामिण र विकट क्षेत्रका नागरिकका लागि रेडियो भूवर भवानी ढुकढुकी नै बनेको छ,’ स्टेशन म्यानेजर चौधरीले भनिन् ‘हामीले विशुद्ध ग्रामिण क्षेत्रमा सामुदायिक अवधारणामार्फत एफ.एम. रेडियोबाट नागरिकहरुमा सञ्चार सेवा पुर्याईरहेका छौं ।’
रेडियोले वन तथा वातावरण, प्राकृतिक स्रोतको संरक्षण, बाढी पूर्वसूचना तथा ब्यवस्थापन, विभिन्न खालका रोग महामारी नियन्त्रण, जनचेतना लगायतका कार्यमा महत्वपूर्ण योगदान दिदै आएको स्टेशन म्यानेजर चौधरीले बताइन् । रेडियो हाल दैनिक साढे १० घण्टा प्रशारणमा आइरहेको छ । रेडियोले सफलता पुर्वक पाँच वर्ष पूरा गरि छैठौं वर्षमा प्रवेश गरेको सुखद अवसरमा आफ्ना श्रोता, विज्ञापनदाता, हामीसँग सहकार्य गर्ने सरकारी तथा गैरसरकारी निकाय, शुभेच्छुक लगायत सबैप्रति हार्दिक आभार प्रकट पनि गरेको छ ।