नेपालगन्ज : नेपालगन्जमा सञ्चालन हुन लागेको बैकुण्ठधाम आध्यात्मिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ मा प्रस्तावित बैकुण्ठधाम सिधनियाघाट सहयोगार्थ आध्यात्मिक महोत्सव हुन लागेको हो ।
नेपालगन्जको रामलिला मैदानमा यही कात्तिक २२ गते (भोली) देखी सञ्चालन हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको मूल समारोह समितिको सचिवालयले जानकारी दिएको छ । सचिवालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा संयोजक डा. सुरेशकुमार कनोडियाले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव हुन लागेको बताए ।
‘डुडुवा गाउँपालिकाले बैकुण्ठधाम बनाइसकेपछि अरुले किन बनाउनुपर्यो भन्ने प्रश्न अहिले उठेको छ, तर डुडुवाले बनाएको संरचना र हामीले बनाउने संरचना बिलकुलै फरक हुनेछन्,’ डा. कनोडियाले भने ‘बैकुण्ठधाम निर्माणको लागि हामीले १४ कठ्ठा जमिनको बयाना समेत गरिसकेका छौं, हुन त यो जग्गा अपर्याप्त नै हो, वरिपरीको अरु जमिनलाई पनि बैकुण्ठधामको नाममा ल्याउने प्रयासमा छौं ।’
बैकुण्ठधाम निर्माण योजना करिव १५/२० करोड रुपैयाँको रहेको संयोजक कनोडियाले बताए । उनले अगाडी थपे, ‘सरकारले पनि यहाँ लगानी गर्न तयार छ, सरकारले दुई करोड रुपैयाँ शहरी विकास कार्यालयमा थन्केर बसेको छ, सबैको चाहना नै ब्यवस्थित र राम्रो बैकुण्ठधाम बनोस् भन्ने नै छ ।’
आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने महोत्सवलाई ब्यवस्थित बनाउन सबै वर्ग, क्षेत्र, धर्म र समुदायलाई समेटेर २ हजार बढी सदस्य रहेको मूल समिति र त्यस अन्तर्गत रहने गरी १ सय १० बढी उपसमिति गठन भएको मूल समारोह समितिका महासचिव श्रीराम सिग्देलले जानकारी दिए । ‘सम्पूर्ण समितिबाट महोत्सवका लागि आवश्यक तयारी पूरा भएको जानकारी सम्बन्धित समितिका संयोजकहरुबाट जानकारी प्राप्त भएको छ,’ उनले भने । सो क्रममा वाचन शिरोमणी पंण्डित दीनबन्धु पोखरेल, पूर्वमन्त्री गजेन्द्र हमाल लगायतको उपस्थिती रहेको थियो ।
आध्यात्मिक महोत्सवमा वाचन शिरोमणी पंण्डित पोखरेलको प्रमुख वाचनसहित उनको संगीतमय टोलीबाट भागवत प्रवचन हुने मूल समारोह समितिको सचिवालयले जनाएको छ । महोत्सवको पहिलो दिन बिहीबार बिहान ११ बजे महोत्सव स्थल रामलिला मैदानबाट विभिन्न जाती, भाषा, धर्म र सम्प्रदायको झाँकीसहितको कलशयात्र प्रारम्भ हुनेछ भने कलशयात्राको समापनसँगै महोत्सवको उद्घाटन गरिने बताइएको छ ।