नेपालगन्ज : अविरल रुपमा आएको वर्षापछि आएको बाढीले बर्दियामा वितण्डा मच्चाएको छ । कर्णाली नदीमा आएको बाढी बर्दियाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका लगायत ठाउँमा पस्दा एक हजार बढी घर डुबानमा परेका छन् । गाउँमा बाढी पसेपछि स्थानीय बासिन्दाको विचल्ली भएको छ ।
स्थानीय बासिन्दाहरु सुरक्षित ठाउँमा बसिरहेका छन् । दौलतपुरका स्थानीय बासिन्दा समेत रहेका पत्रकार लक्ष्मण ढुंगानाले कर्णालीको बाढी पुरै गाउँमा पसेको बताए । घरहरु सबै बाढीमा डुबेका छन्, हाम्रो परिवार आफन्तको माथिल्लो तलामा बसिरहेका छौं, अहिलेसम्म सुरक्षित छौं, रातभर के हुन्छ भन्न सकिन्न,’ उनले टेलिफोनमा भने ।
कर्णाली नदीमा बग्ने जति पानी आफुले अहिले घर वरिपरी बगिरहेको बताए । ‘मेरो घर वरिपरी नदी बगिरहेको छ, झन् कर्णाली नदीमा कत्रो पानी होला ?’ पत्रकार ढुंगानाले भने । राजापुर र गेरुवा गाउँपालिकामा मात्रै एक हजार घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । कर्णाली नदीले विभिन्न ठाउँमा बाँध भत्काएर राजापुर र गेरुवाका मानव बस्तीमा वितण्डा मच्चाएको हो ।
राजापुर नगरपालिकाको तिग्रा, चनौरा, दौलतपुर तथा गेरुवा गाउँपालिकाको पाताभार लगायत क्षेत्र पुरै डुबानमा परेका छन् । राजापुर र गेरुवाका विभिन्न ठाउँमा फसेका २ सय ५० भन्दा बढीलाई सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ । त्यस क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका छन् । कर्णाली नदीको सतह मंगलबार साँझ ७ बजेको रेकर्ड अनुसार १३ मिटर पुगेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बर्दियाले जनाएको छ ।
भिडियो हेर्नुस् :