बाँके(राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिकाले विपन्न समुदायका लागि घर बनाउन थालेको छ । विशेष अनुदान अन्तर्गत गाउँपालिकाले विपन्न आवास कार्यक्रम मार्फत् लक्षित समुदायलाई छनोट गरी नयाँ घर बनाउन थालेको हो । आर्थिक स्थिति कमजोर भएका विपन्न समुदायलाई आगामी जेठ मसान्तभित्र हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिए ।
विपन्न समुदायलाई प्राथमिकतामा राखेर गाउँपालिकाले घर बनाइदिन थालेको उनले बताए । विपन्न समुदायकी गंगा बि.क.को घर शिलान्यस गर्दै गाउँपालिकाका अध्यक्ष पौडेलले गाउँपालिकामा विपन्न आवास कार्यक्रम सुरु भइसकेको जानकारी दिए ।
संविधान प्रदत्त आवास पाउनुपर्ने नागरिकको हकलाई गाउँपालिकाले कार्यान्वयन गरेको अध्यक्ष पौडेलले सुनाए । चालु आर्थिक वर्ष २०८१/०८२ मा ५२ वटा घर गाउँपालिकाले बनाइदिन थालेको उनले जानकारी दिए । ‘चालु वर्षमा हामीले विपन्न समुदायको लागि ५२ वटा घर बनाउँदैछौं, यो हाम्रो आफ्नै कार्यक्रम हो तर केन्द्र सरकारको सहयोग पनि रहेको छ,’ पौडेलले भने ।
गाउँपालिकाका अनुसार विशेष अनुदान अन्तर्गत २ करोड ८० लाख रुपैयाँको लागतमा घर निर्माण गरिदैछ । एउटा घरको लागत ५ लाख ३७ हजार ५ सय ५५ रुपैयाँ रहेको बताइएको छ । त्यसमा ब्रण्डा, दुई वटा पक्की कोठा र जस्ता पाता रहनेछ ।
घरसँगै शौचालय पनि सोही बजेटमार्फत निर्माण गरिनेछ । तर शौचालयको सेफ्टी ट्यांकी भने घरधनीले बनाउनुपर्ने भएको छ । गाउँपालिका उपाध्यक्ष मनिषासिंंह थारुले विपन्न र आयस्तर कमजोर भएका परिवारको पहिचान गरेर विपन्न आवास कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताइन ।
नयाँ घर पाउनेमा आदिवासी, दलित तथा पिछडिएका समुदाय रहेको उनले जानकारी दिइन । आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी भुवर भवानी निर्माण सेवा र सौगात कन्ट्रक्सन कम्पनी ठाकुरबाबा, बर्दियाले घर निर्माणको ठेक्का लिएका छन । भुवर भवानीले २१ र सौगातले ३१ वटा घर बनाउने गरि गाउँपालिकासँग सम्झौता गरेका छन ।