नेपालगन्ज : भारतले बाँधको ढोका थुनेका कारण बर्दियाको राजापुर र गेरुवा गाउँपालिका क्षेत्र डुबानमा परेको तथ्य खुलेको छ । भारतले गिर्जापुरी बाँधको ढोका बन्द गरेको जानकारी आएपछि भारतीय पक्षलाई ढोका खोल्न लगाइसकेको पुर्वमन्त्री एवम् बर्दियाका सांसद संजय गौतमले बताए ।
‘भारतलाई गिर्जापुरी बाँधको ढोका खोल्न लगाएका छौं, ढोका खोल्यो भन्ने खबर आएको छ, एकिन चाही भएको छैन,’ काठमाडौंमा रहेका गौतमले दूरसञ्चार डटकमसँग टेलिफोनमा भने । कर्णाली नदीको पानी भारतको गिर्जापुरी बाँध हुदै दक्षिणतर्फ बग्ने गर्छ । तर, भारतले नेपालमा जब ठुलो वर्षा हुन्छ, त्यतिबेला बाँधका ढोकाहरु बन्द गरिदिन्छ ।
कर्णाली र बबईको बाढीले बाढीले राजापुर नगरपालिका, गेरुवा गाउँपालिका लगायत बर्दियाको विभिन्न ठाउँमा ठुलो क्षति पुर्याएको उनले बताए । बर्दियाली जनताको उद्धार र राहतका लागि आफुले काठमाडौंमा समन्वय गरिरहेको गौतमले सुनाए ।
‘गृहमन्त्री, गृहसचिव लगायत सबैसँग कुराकानी गरेको छु, उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ, कोही बाढीमा फसेको सूचना आउने वित्तिकै हेलिकप्टर उडाउने कुरा भएको छ,’ उनले भने । बाढीको विपत्तीमा आफ्नो जिउ, ज्यानको सुरक्षा गर्दै सावधानी अपनाउन पुर्वमन्त्री गौतमले बर्दियाबासीलाई अपिल गरेका छन् ।