नेपालगन्ज : नेपालगन्जका निर्मल राना (नाम परिर्वतित) लाई घरका बुवा, आमाले अहिले पनि छोरी भनेर बोलाउँछन् । समाजमा पनि उनलाई छोरीकै रुपमा सम्बोधन गर्छन् । उनी जन्मिदाँ छोरीकै अंग लिएर जन्मेका हुन् । तर, उमेर बढेपछि मात्र निर्मल मानसिक रुपमा छोरा बने । त्यसैले अहिले उनी आफुलाई छोराको पहिचान दिन चाहन्छन् ।
नेपालगन्जको एक गैरसरकारी संस्थामा जागिर गर्ने उनलाई जिल्ला प्रशासन कार्यालयले पनि छोरीको लिंगबाट नागरिकता प्रमाणपत्र दिएको छ । त्यही प्रमाणपत्रबाट जागिर खानुपर्ने बाध्यता छ, उनलाई । छोराको पहिचानमा जीवन जिउने इच्छा हुँदा पनि घर, परिवारसँग प्रतिवाद गर्ने आँट उनलाई छैन । ‘म जन्मिदाँ छोरीको लिंग लिएर जन्मेको हुँ, जब मेरो उमेरमा परिपक्कता आयो, त्यसपछि मैले आफ्नो पहिचान छोराको रुपमा देखाउन खोजे,’ उनले भने ‘म अहिले पनि केटी मान्छेप्रति नै आर्कषित हुन्छु ।’
आफ्नो बिबाहका लागि घरमा धेरै केटा माग्न आएपनि आफुले अनेक बहानामा इन्कार गर्दै आएको उनले सुनाए । निर्मलले थपे, ‘मलाई केटाभन्दा पनि केटी प्रति नै आर्कषण बढ्छ ।’ उमेर बढ्दै जादाँ परिवार र समाजमा आफ्नो फरक पहिचान देखाउन गाह्रो भइरहेको निर्मलले दुखेसो पोखे । परिवार र समाजले स्वीकार गरेमा ‘लेस्वियन’ दम्पत्ती बनेर जीवन बिताउने इच्छा रहेको उनले सुनाए ।
नेपालगन्जकी मुना घर्ती(नाम परिर्वतित) आफुले यौनिक तथा अल्पसंख्यक समुदायको अधिकारको वकालत गर्छिन् । यौनिक तथा अल्पसंख्यक समुदायको हक अधिकारको वकालत गर्ने उनी घर, परिवार र समाजका अगाडी भने आफ्नो वास्तविक पहिचान लुकाउन बाध्य छिन् । जन्मिदाँ छोराको अंग लिएर जन्मेपनि अहिले उनी आफुलाई छोरीका रुपमा चिनाउन चाहन्छिन् ।
‘हाम्रो बारेमा अझैपनि पर्याप्त मात्रामा कानुन बनेको छैन, कसैले हामीमाथी दुर्व्यवहार गरिहाल्यो भनेपनि कडा सजायको ब्यवस्था छैन,’ उनले भनिन् ‘परिवार र समाजको डरले गर्दा आफ्नो पहिचान लुकाएर बस्नुपर्ने स्थिती छ ।’ पहिलेको तुलनामा पछिल्लो समयमा यौनिक तथा अल्पसंख्यक समुदायलाई हेर्ने दृष्टिकोण केही सकारात्मक भएपनि अझैपनि केही गलत ब्यक्तिहरु परिवार र समाजमा रहेको उनको भनाई छ ।
यि त केही प्रतिनिधि पात्र मात्रै हुन् । अझैपनि धेरैजसो यौनिक तथा अल्पसंख्यक समुदाय आफ्नो परिवार र समाजमा खुल्न सकेका छैनन् । उनीहरुलाई खुल्ने वातावरण बनाउने दायित्व राज्यको भएपनि यसतर्फ चासो नदिइएको यौनिक तथा अल्पसंख्यक समुदायका अगुवा बताउँछन् । परिवार र समाजमा खुल्ने उचित वातावरण नबन्दा धेरैजसो ब्यक्तीहरु आफ्नो पहिचानलाई लुकाएर बस्नु परेको छ । राज्यले यौनिक तथा अल्पसंख्यक समुदाय केन्द्रित ठोस कानुन नबनाउँदा बाटोमा हिड्दा दुर्व्यवहारका साथै यौन हिंसाका घटना समेत हुने गरेको पाइन्छ ।
यौनिक तथा अल्पसंख्यक समुदायको वकालत गर्दै आएकी परिना चौधरी अहिले पनि कतिपयलाई घरभित्र र बाहिर अप्ठ्यारो अवस्था रहेको बताउँछिन् । आफ्नो पहिचानका लागि खुलेर बाहिर निस्केकी परिना भन्छिन्, ‘अहिले पनि बाहिर निर्धक्कसँग हिड्न सक्ने स्थिती छैन, यौनिक तथा अल्पसंख्यक समुदायलाई बाहिर हिड्न गाह्रो नै छ,’ उनले भनिन् ‘बाहिर हिड्यो कि जिस्क्याउने, होच्याउने काम हुन्छ ।’ पहिलेको तुलनामा थोरै ब्यक्तीमा मात्र यौनिक तथा अल्पसंख्यक समुदायप्रतिको धारणामा परिवर्तन आएको उनको बुझाई छ ।