नेपालगन्ज : नेपालगन्जमा सञ्चालित सुनाखरी रेष्टुरेष्टले दुई जना गरिव तथा विपन्नलाई निःशुल्क रुपमा पढाएको छ । निःशुल्क रुपमा पढाउनुका साथै ति किशोर, किशोरीलाई रोजगारी समेत प्रदान गरेको रेष्टुरेन्टका प्रबन्ध निर्देशक घनश्याम शर्माले जानकारी दिए । हरेक वर्ष दुई जनालाई छात्रवृत्ति प्रदान गर्ने रणनीति अनुसार गत वर्षदेखि दुई जना स्थानीय किशोरलाई निःशुल्क रुपमा पढाईरहेको उनले बताए ।
छात्रवृत्तिमा होटल म्यानेजमेन्ट पढाउने र १२ कक्षा पास गरेपछि काम गर्न चाहनेलाई रोजगारी समेत दिइने शर्माले सुनाए । उक्त रेष्टुरेन्ट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा सञ्चालित छ । रेष्टुरेन्टको सातौं साधारण सभाको अवसरमा गतवर्षदेखि सामाजिक उत्तरदायित्वतर्फ दुई जनालाई आफ्नो खर्चमा पढाउने रणनिती अनुसार नेपालगन्ज-१२ का इसरार खान र सलोनी गोडियालाई धम्बोझी र सरस्वती उच्च माविमा निःशुल्क पढाइरहेको प्रबन्ध निर्देशक शर्माले जानकारी दिए ।
साधारण सभाको अवसरमा रेष्टुरेन्टले पत्रकारिता क्षेत्रको माध्यमबाट विशेष योगदान पुर्याए वापत रेडियो कृष्णसारका प्रमुख तुला अधिकारी, दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरे र पत्रकार रामप्रसाद आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । यस्तै रेष्टुरेन्टका लेखापाल कल्याण यादव, कुकमेनद्धय रमेश बस्नेत र राजन शाही, वेटर चन्द्र बहादुर खत्रीलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको छ ।
उक्त रेष्टुरेन्टमा कृष्णप्रसाद खनाल, घनश्याम शर्मा, पुण्यप्रसाद भट्टराई, प्रदीप ज्ञवाली, पवित्र प्रकाश शर्मा, मोहम्मुद अहमद सिद्धिकी, हर्कबहादुर बोहरा, खिमलाल शर्मा, भक्तराज उप्रेती, बन्धु चौधरी, सूर्यप्रसाद शर्मा, रुद्रप्रसाद शर्मा लगायत १४ जनाको शेयर रहेको छ । सुनाखरीमा हाल ५० जना कर्मचारी कार्यरत रहेको बताइएको छ ।