बाँके (बैजनाथ) : नौवस्ता खानेपानी तथा सरसफाई उपभोक्ता समितिभित्र चरम आर्थिक अनियमितता भएको पाइएको छ । बैजनाथ गाउँपालिका वडा नम्वर ४ मा रहेको उक्त समितिभित्र आर्थिक अनियमितता भएको कुरा बुधबार सार्वजनिक गरिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको हो ।
गत भदौं ३० गते वडा भेला मार्फत छानविन समिति गठन गरिएको थियो । उपभोक्ता समिति भित्र ब्यापक अनियमितता भएको भन्दै स्थानीय बासिन्दाले संघर्ष समिति बनाएका थिए । बैजनाथ वडा नम्बर ४ का वडासदस्य बाल कुमारी परियारको संयोजकत्वमा छानबिन समिति बनेको थियो । समितिले करिब ३ महिना समय लगायर छानबिन गरेको जनाएको छ ।
राजकुमार ढकालको अध्यक्षतामा रहेको नौवस्ता खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा आर्थिक अनियमिततासँगै पदाधिकारीको नाममा रकम बेरुजु समेत रहेको पाइएको छ । उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा झण्डै पौने करोड हिनामिना भएको छानबिन समितिले जनाएको छ ।
भेलामा बोल्ने अधिकांसले समितिका वर्तमान अध्यक्ष तथा पदाधिकारीबाट संस्थाको रकम असुल उपर गर्नुपर्ने बताए । उपभोक्ता समितिको रकम अनियमितता गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्नेमा जोड दिदै स्थानीय राजनीतिक दलका प्रतिनिधिले यसका लागि आफुहरुको साथ रहेको बताएका छन् । नेपाली कांग्रेस प्रदेश सभा सभापति केशव शाहले प्रतिवेदनले नै समितिका पदाधिकारीलाई दोषी देखाएको बताए । संस्थाको रकम अनियमितता गर्ने जो सुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाई छ ।
नेकपा एमाले बैजनाथ गाउँपालिका सचिव नन्दलाल ढकालले छानविन समितिले नै वास्तविकता बाहिर ल्याएको बताउँदै भ्रष्टाचार र अनियमितता गर्ने ब्यक्तीलाई कसैले पनि संरक्षण गर्न नसक्ने धारणा राखे । भ्रष्टाचार गर्ने ब्यक्ती कुनैपनि पार्टीको मान्छे हुन नसक्ने उनले बताए । नेकपा माओवादी केन्द्रका अम्बरबहादुर बुढाले छानविन समितिको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही गरी रकम असुल्नुपर्ने सुझाव दिए ।
सो क्रममा बोल्ने अन्य दलका प्रतिनिधिले पनि दोषीलाई कारबाही गर्नुको विकल्प नभएको बताए । भेलामा बोल्दै उपभोक्ता समितिका अध्यक्ष ढकालले आफ्नो बचाउ गरेका थिए । उक्त भेलामा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, बैजनाथ-४ का वडाअध्यक्ष प्रेमबहादुर शाही लगायतले पनि आफ्नो धारणा राखेका थिए ।