नेपालगन्ज : क्रियाशिल पत्रकार महिला बाँकेको अध्यक्षमा साबित्री गिरी निर्वाचित भएकी छिन् । नेपालगन्जमा शनिबार सम्पन्न १२औं साधारणसभा र छैठौं अधिवेशनले गिरीलाई निर्विरोध रूपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा बिमला चौधरी, सचिवमा अमृता जैशी (निशु), सह-सचिवमा सुमित्रा चौधरी र कोषाध्यक्षमा सुमित्रा पण्डित निर्वाचित भएका छन । यसैगरी सदस्यहरुमा सजल गैरे, सुनिता बर्मा, मन्जु रिजाल, साहिदा बानो, सरला बराल र सविता चन्द ठकुरीसहित ११ सदस्यीय कार्यसमित रहेको छ ।
क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष अमृता केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अध्यक्ष लिला शाहको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको उद्घाटन शत्रमा प्रमुख अतिथी शाह, क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, प्रदेश सचिव सरला सुवेदी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, उपाध्यक्ष करुणा शाह, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का केन्द्रिय सदस्य आरिफ अन्सारी, संचारिका समूह लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराज, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सो कार्यक्रममा मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित संघ, प्रदेश र बाँके जिल्लाका पत्रकार महिला र पदाधिकारीलाई सम्मान गरियो ।