नेपालगन्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क रुपमा औषधी उपलब्ध गराउन आवश्यक पहल भइरहेको बताएका छन् ।
भेरी अस्पतालको नवनिर्मित भवनमा हेमाग्लोबिनोप्याथी वार्ड र अपरेशन थियटरको सोमबार उद्घाटन गर्दै उनले भने, ‘बिरामीलाई निःशुल्क रुपमा औषधी उपलब्ध गराउन हामीले भारत सरकारसँग अनुरोध गरिसकेका छौं, भारतको स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको छ, हामी औषधी जसरी पनि उपलब्ध गराउँछौं ।’
निःशुल्क रुपमा औषधीको ब्यवस्था भएमा सिकलसेल एनिमियाका बिरामीलाई ठुलो राहत मिल्ने उनको भनाई छ । सरकारले सिकलसेल एनिमियाका बिरामीका लागि एक लाख रुपैयाँ बराबरको उपचार खर्च ब्यहोर्दै आएको छ । सिकलसेल एनिमिया रोग फैलिन नदिन बच्चा जन्मिने वित्तिकै स्क्रिनिङ गर्ने ब्यवस्था मिलाउनुपर्ने मन्त्री पौडेलले बताए ।
अर्को प्रसंगमा स्वास्थ्य मन्त्री पौडेलले सरकारी अस्पतालमा औषधी पाईदैन भन्न नमिल्ने बताए । ‘फार्मेसीमा जति बढी औषधी राख्यो त्यति नै फाईदा हुन्छ, अन्यत्रका फार्मेसीसँग मिलेर औषधी छैन भन्न मिल्दैन,’ उनले भने ‘फार्मेसीले पूर्ण क्षमतामा काम गर्नुपर्छ ।’ देशभरका सरकारी अस्पतालमा जनशक्ती अभाव नै मुख्य समस्या देखिएको बताउँदै मन्त्रालयले तत्काल जनशक्ती थप्न सक्ने स्थिती नै नरहेको धारणा ब्यक्त गरे ।
भेरी अस्पतालको पुर्वाधार हेर्दा ३ सय बेड क्षमतामा चलाउन सकिने भएपनि मन्त्रालयले जनशक्ती थप्न सक्ने अवस्था नरहेको बताए । ‘जनशक्ती ब्यवस्थापन नेपाल सरकारले आधा खर्च ब्यहोर्ने र अस्पताल विकास समितिको आम्दानीबाट आधा ब्यहोर्ने गरी गर्न सकिन्छ, त्यसको लागि निर्देशिका बनाउँदैछौं,’ उनले भने । मन्त्री पौडेलले स्वास्थ्य बीमा ब्यवस्थित हुन नसकेको स्वीकार गर्दै स्वास्थ्य बीमाले ठुलो राहत भने दिएको बताए ।
अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीले अस्पतालको कार्यप्रगति र चुनौतीबारे अवगत गराएका थिए । सो क्रममा अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले सिकलसेल एनिमिया र थाइलेसिमिया रोगको अवस्था तथा उपचार ब्यवस्था लगायत विषयमा प्रस्तुतीकरण गरेका थिए ।
उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद आशा बिक, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, नेपाली कांग्रेसका नेता डा. गोपाल दहित, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, अस्पतालका पूर्वमेसुहरु, विभागिय प्रमुखहरु, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।