नेपालगन्ज : कर्मचारीले गरेको आन्दोलनका कारण नेपालगन्ज मेडिकल कलेज अन्तरगत रहेका शिक्षण अस्पतालको सेवा थप प्रभावित बनेको छ । तलब बृद्धि लगायतका माग राखेर कर्मचारीले गत मंसिर २६ गतेदेखी चरणवद्ध आन्दोलन घोषणा गर्दै सेवा अवरुद्ध गरेका हुन् ।
कर्मचारीको आन्दोलन चर्किदै जादाँ मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जको सेवा प्रभावित बन्न पुगेको हो । कर्मचारीको आन्दोलनका कारण बाँकेको चिसापनीमा रहेको कलेजको शैक्षिक क्रियाकलाप प्रभावित बन्न पुगेको छ ।
कर्मचारीले अस्पतालको आपतकालिन सेवा बाहेक सबै सेवा ठप्प पारेका छन् । सेवा ठप्प भएपछि अस्पतालमा भर्ना भएका र उपचारका लागि भर्ना हुन आउने बिरामी समस्यामा परेका छन् । अस्पतालको ओपिडी, प्रशासनिक, लेखा, एकेडेमी लगायत शाखामा कर्मचारीले तालाबन्दी गरेका छन् ।
कलेजमा कार्यरत कर्मचारीका तीन वटा संगठनले संयुक्त रूपमा गत असारमा ७ बुँदे र ४५ उपबुँदे मागपत्र व्यवस्थापन पक्षलाई बुझाए पनि बेवास्ता भएको आरोप लगाइएको छ । पटक–पटक वार्तामा बसेपनि निष्कर्षमा बिहिन भएपछि कानुनी प्रक्रिया पुर्याएर आन्दोलन गर्नु परेको आन्दोलन परिचालन केन्द्रीय कमिटी संयोजक रत्ना गिरीले बताइन् । कर्मचारीले उठाएका माग जायज भएको र व्यवस्थापन पक्षले सम्बोधन गर्नुपर्ने भन्दै विभिन्न कर्मचारीका संगठनले आन्दोलनप्रति ऐक्यबद्धता जनाएको बताएका छन् ।
आन्दोलन परिचालन केन्द्रीय कमिटीका सह-संयोजक यमबहादुर खड्काले कर्मचारीको आन्दोलनलाई कमजोर नठान्न ब्यवस्थापनलाई चेतावनी दिए । कर्मचारीको माग पुरा नगर्दासम्म आन्दोलन नरोकिने उनले बताए । 'यो आन्दोलन ब्यवस्थित र शान्तिपूर्ण रुपमा चलिरहेको छ,' नेपालगन्ज मेडिकल कलेज कर्मचारी संघका केन्द्रिय सभापति खड्काले भने, 'अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा आन्दोलन गर्ने कर्मचारीको कुनै रहर होईन, कर्मचारीले प्रत्येक दुई/दुई वर्षमा गर्ने सौदाबाजीमा ब्यवस्थापन पक्ष उदासिन भएको हुँदा कर्मचारीले राखेका मागहरु ६ महिना बितिसक्दा पनि ब्यवस्थापनको लापरबाहीका कारण बाध्य भएर यो परिस्थितीको सिर्जना भएको हो ।'
कर्मचारीको माग पुरा गर्न ब्यवस्थापन पक्षले समयमै सम्बोधन नगरेको खण्डमा आन्दोलन अझ कडा रुपमा जाने उनले चेतावनी दिए । मेडिकल कलेजमा एक हजार ५ सय ५० जना कर्मचारी कार्यरत छन् ।