नेपालगन्ज : नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय नेपालगन्जमा बचतकर्ताको भिड लागेको छ । बैंकको केन्द्रिय कार्यालय नेपालगन्जमा बिहीबार बिहानैदेखि बचतकर्ताको भिड लागेको हो ।
बचतकर्ताले आफ्नो रकम फिर्ता पाउनुपर्ने माग गरेका छन । बर्दिया, ठाकुरबाबा नगरपालिकाबाट आएका पदम बहादुर थापाले बचत रकम निकाल्न शाखा कार्यालयमा पुग्दा रकम नपाएपछि केन्द्रिय कार्यालय नेपालगन्ज आईपुगेको बताए । उनले बैंकमा जम्मा गरेको मध्ये अब ४ लाखबढी रकम फिर्ता पाउनुपर्ने बताए । 'पहिला धेरै जम्मा गरेको थिए, घर बनाउने भनेर जम्मा गरेको पैसा हो, केही पैसा निकालेको हुँ, अझै चार लाख भन्दा बढी जम्मा छ,' उनलेे दूरसन्चार डटकमसँग भने ।
नेपालगन्ज आईपुग्दा कर्णाली बैंकलाई राष्ट्र बैंकले हातमा लिईसकेको कुरा जानकारी पाएको उनले बताए । नेपाल राष्ट्र बैंकका उपनिर्देशक विष्णुकुमार विश्वकर्माले बचतकर्ता, निक्षेपकर्ताहरु अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन । 'उहाँहरुको निक्षेप सुरक्षित छ, अहिले आत्तिनु पर्दैन, सबै जनताहरु ढुक्क भएर बस्नुस, हामी बैंकको खातापाता हेर्दैछौ, जायजेथाहरु हेर्दैछौ, जतिसक्दो हामी यो बैंकलाई सुचारु रुपले सन्चालन गर्ने प्रयासमा छौं,' विश्वकर्माले भने ।
आर्थिक सुशासन कायम नभएको तथा खराब कर्जा ४० प्रतिशत माथि पुगेको भन्दै राष्ट्र बैंकले बुधबार समस्याग्रस्त घोषणा गरेको थियो । राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गर्दै बैंक व्यवस्थापनको सम्पूर्ण अधिकार खोसिएको छ । राष्ट्र बैंकले व्यवस्थापन आफ्नो नियन्त्रणमा लिदै राष्ट्र बैंकका प्रतिनिधिको रुपमा बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा उपनिर्देशक विष्णु कुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहालाई व्यवस्थापनका लागि पठाएको छ।
बैंकको व्यवस्थापनमा कैफियत देखिएको तथा खराबकर्जा ४० प्रतिशत माथि पुगेको भन्दै राष्ट्र बैंकले गत मंसिर ११ गते कर्णाली डेभलपमेन्ट बैंकलाई ६ महिनाका लागि समस्याग्रस्त उन्मुख घोषणा गरेको थियो। ६ महिनासम्म सुधार नगरे समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन नियन्त्रणमा लिने चेतावनी दिएको थियो ।