नेपालगन्ज : लुम्बिनी कप महिला फुटवल प्रतियोगिताको सचिवालय उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले बिहीबार नेपालगन्ज रंगशालामा रहेको सचिवालयको उद्घाटन गरेका हुन् ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी फागुन १९ गतेदेखि २९ गते सम्म नेपालगन्ज रंगशालामा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ । नगर प्रमुख विष्टले नेपालगन्जले लुम्बिनी कप महिला फुटबलले नेपालगन्जलाई फेरी राष्ट्रिय स्तरमा चिनिने अवसर प्रदान गर्ने बताए ।
‘नेपालगन्जले देशभरमा खेलकुद क्षेत्रमा आफनो पहिचान बनाएको छ, नेपालगन्ज खेलकुदको हव हो । तर पछिल्लो समय खेलकुदको स्तर घटेको अनुभव भएको छ, यो प्रतियोगिताले नेपालगन्जलाई चिनाउने अवसर पनि हो, हामीसँग भएको स्रोत साधनको प्रयोग गरेर उत्कृष्ट नतिजा निकाल्ने प्रयास गर्नु पर्छ, खेलाडीमाथि राज्यले लगानी गर्नु पर्छ । खेलाडीको सम्मान गर्ने वातावरण बन्नु पर्छ,’ उनले भने ।
नेपालगन्जरंगशालामा हुने लुम्बिनी कप महिला फुटवलमा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् । उद्घाटन समारोहमा बाँके जिल्ला फुटवल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाहीले लुम्बिनी कप फुटबलले यस क्षेत्रको महिला फुटबलको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।
प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरु आउने विश्वास व्यक्त गर्दै अध्यक्ष शाहीले बाँके जिल्ला फुटवल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताए । आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले पश्चिम नेपालमा महिला महत्वपुर्ण प्रतियोगिताको सुरुआत गर्न लागेको बताए ।
मल्ल र गौतमलाई संयोजकको जिम्मेवारी
लुम्बिनी कप महिला फुटवल प्रतियोगितालाई व्यवस्थित ढंगले सञ्चालन गर्न सचिवालय प्रमुखको जिम्मेवारी नेपाल राष्ट्र बैंकवाट सेवा निवृत रमेश मल्ललाई प्रदान गरिएको छ । सुटिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मल्ल वरिष्ठ फोटोग्राफर हुन् ।
यस्तै प्रतियोगिताको सूचना र समाचारलाई व्यापकता दिन तथा सञ्चारकर्मीसँग समन्वय गर्न वरिष्ठ पत्रकार निरजकुमार गौतमलाई प्रचार प्रसार संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । गौतम नेपाल पत्रकार महासंघ बाँकेको पूर्वअध्यक्ष हुन् ।