बाँके(राप्ती सोनारी) : ईलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार राप्ती सोनारी गाउँपालिकामा नागरिक सुनुवाई कार्यक्रम गरेको छ । ‘हर प्रहर गाउँ र नगरी, टोल–टोलमा प्रहरी’ भन्ने नारा सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुरको मातहातका प्रहरी निकायको सेवा प्रवाहबारे जानकारी दिने तथा स्थानीयको प्रतिक्रिया लिने उद्देश्यले नागरिक सुनुवाई कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले समृद्ध समाज बनाउनका लागि स्थानीय नागरिक र नागरिक समाजको जिम्मेवारी पनि रहेको बताए । सबै कुरामा स्थानीय सरकार र प्रहरीलाई मात्र दोष दिन नहुने धारणा राखे ।
गाउँपालिकाको आफनै प्रहरी नभएकाले नजिकबाट सेवा दिने नेपाल प्रहरीनै रहेको उल्लेख गर्दै उनले जुन सुकै घटनाको समाधानका लागि प्रहरीको सहयोग लिन सकिने बताए । उनले प्रहरीले पनि हरेक नागरिकलाई समान ब्यवहार देखाउनुपर्ने सुझाव दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले समाजमा महिला हिंसा, लैंगिक हिंसाका घटनाहरु खुलेर बाहिर ल्याउने अभ्यास नभएको बताइन् । महिलाहरुले अझै पनि यस्ता घटनाहरु लुकाएर राख्ने हुँदा न्यायबाट बञ्चित भईरहेको उल्लेख गरिन् ।
जुनसुकै घटनाबारे न्यायीक समिती र प्रहरी समक्ष जाहेर गरेर सहयोग गर्न उनले सुझाव दिइन् । कार्यक्रममा उपस्थित स्थानीय जनप्रतिनिधी, सामाजिक संघ, संस्थाका प्रतिनिधी, शिक्षक, र स्थानीय बासिन्दाले प्रहरीको सेवा प्रवाहबारे विभिन्न गुनासो गरेका थिए । ईलाका प्रहरी कार्यलय कोहलपुरका प्रहरी निरिक्षक हरी भट्टराईले सुरक्षा बिना समृद्ध समाजको कल्पना गर्न नसकिने बताए । त्यसका लागि समाजमा हुने सबैखाले अपराध तथा घटनाबारे सूचना दिने नागरीकको महत्वपूर्ण जिम्मेवारी रहेको उनले बताए ।
समयमा सूचना दिँदा ठूला अपराधका घटना हुनबाट बच्न सकिने बताउँदै उनले सूचना दिने नागरिकको नाम ठेगाना गोप्य रहने भएकाले सूचना दिनमा कुनै संकोच नमान्न आग्रह गरे ।