बाँके(राप्तीसोनारी) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ लाई बुधबार बाल बिवाह मुक्त वडा घोषणा गरिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारुको सभापतित्व एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका बीच बाल बिवाह मुक्त वडा घोषणा गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष थारुले राप्ती सोनारीका अन्य वडालाई पनि बाल बिवाहमुक्त वडा घोषणा गरिदै जाने बताए । गाउँपालिकाकै पहिलो बाल बिवाहमुक्त वडा घोषित भएकोमा वडा नम्बर ३ लाई उनले बधाई तथा शुभकामना पनि दिए ।
कार्यक्रममा राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, विभिन्न वडाका वडाअध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनिधी, स्याक नेपालका शिवलाल पाण्डे, जगदिश थापा, अन्य संघ संस्थाका प्रतिनिधी, बडघर, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ कार्यालय, प्लान, स्याक नेपाल लगायत संस्थाको सहकार्यमा बाल बिवाहमुक्त वडा घोषणा गरिएको हो ।
सो क्रममा बाल बिवाहमुक्त वडा घोषणाका लागि सञ्चार क्षेत्रबाट उल्लेखनीय योगदान गरे वापत स्थानीय रेडियो भूवर भवानीसहित बडघर, स्वास्थ्यकर्मी, विभिन्न संघ संस्था, जनप्रतिनिधी, शिक्षा शाखा, स्वास्थ्य शाखा लगायतलाई सम्मान गरिएको स्याक नेपालका धनीकुमारी चौधरीले जानकारी दिइन् । कार्यक्रममा बाल बिवाह विरुद्धका नाटक पनि प्रर्दशन गरिएको थियो ।