कोहलपुर : प्रस्तावित ‘विपी राजमार्ग’ अर्थात खड्कवार–घुइँयाबारी मार्गमा नेपाली कांग्रेसले पदयात्रा गर्ने भएको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर १ बाँकेले पदयात्रा गर्ने तयारी गरेको हो ।
कोहलपुर नगरपालिकाको खड्कवारदेखी सल्यानको कालिमाटी गाउँपालिका अन्तरगत पर्ने घुइँयावारीसम्म यही पुस २३ गतेका दिन पदयात्रा गर्ने कार्यक्रम तय भएको कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति पोषणराज केसीले जानकारी दिए । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा उक्त पदयात्रा तय गरिएको उनले बताए ।
सभापति केसीका अनुसार उक्त मार्गको प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय विपी कोइरालाले बजेट सुनिश्चित गर्दै शिलान्यास गर्ने तयारी गरेका थिए । तर, तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गतेका दिन ‘कु’ गरेपछि सडक निर्माणको काम अलपत्र परेको थियो । स्थानीय बासिन्दाका अनुसार सल्यान–कोहलपुर आवत जावत गर्नका लागि यो सडक अत्यन्तै छोटो दुरीमा पर्दछ ।
स्वर्गिय कोइरालाको परिकल्पना र स्थानीय बासिन्दालाई आवश्यकता समेत रहेको उक्त सडक निर्माण कार्यमा सरकारलाई दवाव दिने उद्धेश्यले पदयात्रा गर्न लागिएको केसीले बताए । कांग्रेस बाँके क्षेत्र नम्बर १ का सचिव खुमबहादुर बस्नेतले पदयात्राको अगुवाई क्षेत्रीय कार्यसमितिले गरेपनि जिल्लाभरीका कांग्रेस नेता तथा कार्यकर्ता र भातृ तथा शुभेच्छुक संस्थामा आवद्धलाई सहभागी गराउन लागिएको बताए । उनका अनुसार मंगलबार बिहान १० बजे खड्कवारबाट यात्रा प्रारम्भ गरिनेछ । ‘पदयात्रामा हामीले बढीभन्दा बढीलाई सहभागी गराउने तयारी गरेका छौं,’ बस्नेतले दूरसञ्चारसँग भने ।
‘खड्कवारदेखी घुइँयाबारीसम्म ७ घण्टाको पैदल यात्रा’
स्थानीय बासिन्दाका अनुसार खड्कवारबाट घुइँयाबारीसम्म पुग्न (एकतर्फी) कम्तिमा ७ घण्टा जति पैदल हिड्नुपर्छ । दुई दिनअघि मात्र कोहलपुरका स्थानीय समेत रहेका जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी सहितको टोली खड्कवारदेखी घुइँयाबारीसम्म पदयात्रा गरेर फर्किएको छ ।
टोलीमा सहभागी भएका सञ्चारकर्मी चेतकान्त भट्टराईले दिउँसो साढे १२ बजेतिर पदयात्रा सुरु गरेकोमा बेलुकी साढे ७ बजेतिर घुइँयाबारी पुगेको बताए । ‘हामी प्रायः मर्निङवाक गर्ने टोलीले पदयात्रा गरेका थियौं, फर्किदाखेरी घुइँयाबारी–बबई हुदै कोहलपुर फर्कियौं,’ उनले भने । उक्त टोलीमा कांग्रेस नेता एवम् कोहलपुरका वडाअध्यक्ष लालबहादुर राना, पर्यटनकर्मी भागिराम ओली लगायत सहभागी थिए ।