नेपालगन्ज : नेपाली कांग्रेस बाँकेले विजया दशमी, मोहम्मद डे, दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदानका साथै लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमाललाई एक कार्यक्रमका बीच स्वागत गरेको छ ।
नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाको सभापतित्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हमालले आफुले इमान्दारी पुर्वक काम गर्ने प्रतिवद्धता जनाए । बाँके जिल्लाको विकासका लागि आफुले सक्दो मेहेनत गर्ने उनको भनाइ छ । ‘मैले सदैव इमान्दारिताका साथ काम गर्नेछु, जिल्लाको विकासका लागि सक्दो मेहेनत गर्नेछु,’ उनले भने ।
मन्त्री हमालले पदभन्दा इज्जत र प्रतिष्ठा ठुलो हुने बताए । सरकारमा रहँदाखेरी पदलाई बढी महत्व दिन नहुने हमालको भनाइ छ । कांग्रेस बाँकेका सभापति कोइरालाले जिल्लामा १४ औं अधिवेशन गर्नका लागि केन्द्रसँग समन्वय गरिरहेको बताइन् ।
‘पार्टीको अधिवेशन दसैँ र तिहारको बीचमा गर्ने भन्ने थियो, अब तिहार पछाडी नै हुने कुरा सुनिन्छ,’ उनले भनिन् ‘पार्टीमा अहिले धेरै पद छ, एउटै पदमा धेरै मान्छे उठेपछि हारजित हुन्छ, बरु सबै पदमा मिलेर जितेपछि पार्टी बलियो हुन्छ ।’
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद मोहम्मद याकुव अन्सारी, संविधान सभा सदस्यद्धय बादसा कुर्मी र आशा बि.क., नेपाली कांग्रेस बाँकेका उप-सभापति फुलाराम चौधरी, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
भिडियो हेर्नुस् :