नेपालगन्ज : चिसो मौसम, सवारी साधन र पैदल यात्री आ-आफ्नै गन्तव्यमा । नेपालगन्जको सडकमा बुधबार एउटा बेग्लै दृश्य देखियो । सडकमा तैनाथ भएका युवा युवतीहरु ट्राफिक नियमका बारेमा सर्बसाधारण नागारिक, सवारी चालक, ब्यवसायी लगायतलाई जानकारी गराउँदै थिए । स्वयं सेवकको परिचय सहित सडकमा निस्केका उनीहरुले ट्राफिक नियम सम्बन्धी सचेतना जगाए ।
बास नेपालको आयोजना तथा ट्राफिक प्रहरी कार्यालय नेपालगन्जको सहकार्यमा बास आबद्ध 'युवा स्वयंसेवक' ले यस्तो सचेतना मुलक कार्यक्रम गरेका हुन् । नेपालगन्जमा ट्राफिक ब्यवस्थापनमा चुनौती देखिरहेका बेला सडक ब्यवस्थापनबारे सचेतना मुलक कार्यक्रम गरिएको हो ।
अभियानका क्रममा ट्राफिक नियम पालना नगर्ने सवारी धनीलाई नियमको बारेमा जानकारी गराउने, जेब्रा क्रसिङ र सडक पेटीबाट मात्रै आहोर-दोहोर गर्न पैदल यात्रुलाई सचेतना जगाउने, सडक पेटी अतिक्रमण भएको स्थान खाली गर्न ब्यवसायीलाई जानकारी गराइयो । स्थानीय गणेशमान चोकबाट सुरु भएको सो कार्यक्रमको उद्घाटनमा बोल्दै ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रविण आचार्यले ट्राफिक ब्यवस्थापन हरेक नागरिकको दायित्व भएको बताए ।
ट्राफिक सचेतनाका लागि बास नेपालले गरेको सहकार्यले ट्राफिक ब्यवस्थापनमा सहयोग पुग्ने उनको विश्वास छ । बासका कार्यकारी निर्देशक नमस्कार शाहले ट्राफिक नियमको पालना गर्न सचेतना प्रदान गर्ने उद्धेश्यले युवा स्वयं सेवक समुह परिचालन गरिएको बताए ।
ट्राफिक प्रहरीसँगै युवाहरुले सडकमा ट्राफिक ब्यवस्थापनका लागि कार्य गर्ने उनले बताए । युवाहरुले गणेशमान चोकमा करिव एक घण्टा जति ट्राफिक ब्यवस्थापन सम्बन्धी काम गरेका थिए, भने गणेशमान चोकदेखि विपी चोकसम्म दुबै तर्फको सडकमा सचेतना अभियान सञ्चालन गरे । यसका लागि स्वयं सेवक समुहका एक दर्जन बढी युवा युवती सहभागी भएको बासका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।