नेपालगन्ज : नेपाली कांग्रेसका नेता एनपी साउदले कांग्रेस र एमाले ठुला दल मिलेर बनाएको सरकारले जनताका मागलाई सम्बोधन गर्न सक्नुपर्ने बताएका छन् । सुशासन कायम गर्ने प्रतिवद्धताका साथ अहिलेको सरकार बनेको स्पष्ट पार्दै कांग्रेस केन्द्रिय सदस्य साउदले भने, ‘दुई ठुला दलले मुलुकमा काम गर्न सकेनन् भन्ने म्यासेज बाहिर गयो भने जनतामा निराशा, कुृण्ठा बिद्रोह उत्पन्न हुन सक्छ । त्यो बिद्रोहको असर समग्र पद्धतीमा असर पर्ने जोखिम हुन्छ ।’
नेपाल प्रेस युनियन बाँकेले शुक्रबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा नेता साउदले आम राजनीतिक सहमती र सबै दलका मुद्धालाई समेटेर संविधान संशोधन गर्नुपर्ने कुरामा आफ्नो पार्टी स्पष्ट रहेको बताए । उनले भने, ‘संविधान संशोधनका बारेमा नेपाली कांग्रस स्पष्ट छ, संविधान संशोधन राष्ट्रिय सहमतीले तय गर्नुपर्ने कुरा हो ।’
संविधान संशोधनको विषयमा प्रधानमन्त्रीले दिएको अभिब्यक्तीले आशंका उब्जाएको पुर्वमन्त्री समेत रहेका साउदले बताए । वर्तमान सरकार असक्षम नहोस् भन्नेमा कांग्रेसको आशावादी रहेको उनले बताए । सञ्चारकर्मीले सोधेको प्रश्नमा नेता साउदले पार्टीको १५ औं महाधिवेशन निर्धारित समयभित्र हुने विश्वास गरे ।
पत्रकार भेटघाटमा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु डा. डिला संग्रौला, अब्दुल सत्तार र चम्पा खड्का पनि सहभागी थिए । प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीको सभापतित्वमा सम्पन्न भएको पत्रकार भेटघाटमा कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, लुम्बिनी प्रदेशका पुर्वमन्त्री एवम् प्रदेश सांसद बादशाह कुर्मी, जिल्ला उपसभापति कृष्ण कार्की, सचिव सुधान्सु कोईराला, सहसचिव रेणुसिंह ठाकुर लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम सञ्चालन सचिव भिष्म लोधले गरेका थिए ।