बाँके(राप्ती सोनारी) : बाँकेको राप्ती सोनारी गाउँपालिकामा शनिबार माघ मिलन कार्यक्रम गरिएको छ । थारु कल्याणकारिणी सभा बाँकेको आयोजना तथा थारु कल्याणकारिणी सभा राप्ती सोनारी गाउँपालिका समितिको सह-आयोजनामा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ धामपुरमा माघ मिलन कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य दूर्गाप्रसाद चौधरीले थारु समुदायको माग मुद्दा जहिले पनि आफूले सदनमा उठाउँदै आएको बताए । थारु परम्परा र सँस्कृती मेला महोत्सवमा मात्र सिमित हुन नदिन जोड दिँदै उनले भने, ‘हाम्रो थारु समुदायको आफ्नै सँस्कार, सँस्कृति र पहिचान भएन कुनै अस्तित्व रहँदैन ।’ लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री चौधरीले थारु परम्परा अनुसार रक्सी र जल भुईमा चढाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।
थारु कल्याणकारिणी सभा बाँकेका सभापति संगिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी एवम लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी नमुना, संविधान सभा सदस्य पट्टु थारु, अतिथी राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु, राप्ती सोनारीका संस्थापक अध्यक्ष लाहुराम थारु, राप्ती सोनारी ७ नम्बर वडा अध्यक्ष राम लखन थारु, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य बिनोद थारु, आदिवासी जनजाती महासंघ बाँकेका अध्यक्ष डम्बर थापामगर लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले शुभकामना मन्तब्य दिए ।
कार्यक्रममा राप्ती सोनारी गाउँपालिका अन्तर्गतका विभिन्न १८ वटा गाउँ तथा टोलहरुको परम्परागत थारु नाँच प्रस्तुत गरिएको थियो । यस्तै थारु राष्ट्रिय कलाकार खेम भगोरिया र विभिन्न स्थानीय कालाकारले पनि आ–आफ्नो कला प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा थारु समुदायको सँस्कृति संरक्षण र हक अधिकारको क्षेत्रमा योगदान दिने ब्यक्तित्व, बरघर, समाजसेवी, पत्रकार महासंघ बाँकेका पदाधिकारी लगायतलाई सम्मान गरिएको थियो ।