बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिकाले आफ्नै बैजनाथ गान र लोगो प्रयोगमा ल्याएको छ । बैजनाथ गाउँपालिकाको कार्यालय रामपुर, बाँकेमा सोमबार सम्पन्न भएको १७ औं गाउँसभामा बैजनाथ गान तथा लोगोलाई विमोचन गरिएको हो । स्थानीय आचार्य दामोदर उपाध्यायले रचना गरेको बैजनाथ गानमा गायिका सपना शाही र प्रताप दासको स्वर तथा बिनोद बि.क.को लय सिर्जना रहेको छ ।
यसैगरी स्थानीय दामोदर अधिकारीले बैजनाथ लोगोको डिजाईन गरेका छन् । गाउँ सभामा बैजनाथ गानका रचनाकार उपाध्याय र गायिका शाही तथा लागोका डिजाइनर अधिकारीलाई नगद र सम्मान पत्रसहित सम्मान गरिएको थियो । सो क्रममा गायिका शाहीले बैजनाथ गानलाई प्रत्यक्ष रुपमा गाएकी थिइन् ।
\गाउँ सभाले केही बजेट प्रस्ताव, संशोधन तथा रकमान्तर पनि गरेको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए । सभाबाट २ करोड २४ लाख ६० हजार रुपैयाँ रकमान्तर गरिएको उनले जानकारी दिए । केही पुँजीगत बजेटमा रकमान्तर गरिएको अध्यक्ष शाहीले बताए । गाउँपालिकाले प्रत्येक वडामा खुल्ला ब्यायामशाला निर्माण गर्नका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।
गाउँपालिकाले यसअघि नै वडा नम्बर १ र ६ मा खुल्ला ब्यायामशाला निर्माण गरेकोमा बाँकी रहेका ६ वटा वडामा पनि खुल्ला ब्यायामशाला निर्माण गरेर बैजनाथ गाउँपालिकाबासीलाई स्वस्थ र तन्दुरुस्त बनाउने नीति लिएको अध्यक्ष शाहीले बताए । यसैगरी भू–उृपयोग नीतिलाई प्रविधिमैत्री बनाउन ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । संशोधित बजेटबाट शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि समेटिएको अध्यक्ष शाहीले जानकारी दिए ।
‘विनियोजित केही बजेट हामीले संशोधन गरेका छौं, केही बजेट प्रस्ताव गरेका छौं, केही बजेट रकमान्तर गरेका छौं,’ उनले भने ‘जसलाई सभाका सदस्यहरुले सर्वसम्मत रुपमा पारित गर्नु भएको छ ।’ गाउँपालिका अध्यक्ष शाहीको सभाध्यक्षतामा सम्पन्न भएको गाउँ सभामा उपाध्यक्ष निर्मला रोकायले गाउँपालिकाले समृद्ध बैजनाथ बनाउन अघि सारेका योजना र एजेण्डालाई सबैले सर्बसम्मत रुपमा पारित गरेको बताइन् ।
गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु, प्रशासन प्रमुख तप्तराज आचार्य, विभिन्न विषयगत शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो ।