नेपालगन्ज : लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी अगाडी बढाइएको छ । आगामी फागुन १९ देखी २९ गतेसम्म उक्त प्रतियोगिता नेपालगन्ज रंगशालामा हुदैछ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटवल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको तयारीबारे शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा जानकारी दिइएको हो ।
अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्रतियोगिताको तयारी तीब्र रुपमा अगाडी बढाइएको जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका गरी कुल ८ वटा टिमको सहभागिता रहने उनले बताए । नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सञ्चालन भएपछि पश्चिम नेपालमा खेलकुदको विकासमा टेवा पुग्ने शाहको विश्वास छ । प्रतियोगितालाई ब्यवस्थित रुपले सञ्चालन गर्नका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिए ।
‘प्रतियोगितालाई ब्यवस्थित रुपले सञ्चालन गर्नका लागि आवश्यक गृहकार्य चलिरहेको छ, हाईस्पिड इन्टरनेट सुविधासहित मिडिया सेन्टर, प्रिम्याच कन्फ्रेन्स र पोष्टम्याच कन्फ्रेन्स गर्ने ब्यवस्था पनि मिलाउनेछौं,’ शाहले भने ‘खेलाडीलाई कम्तिमा पनि चार तारे होटेलमा बसाउने र होटलदेखी रंगशालासम्म उनीहरुका लागि सुरक्षाको ब्यवस्था मिलाउने तयारीमा छौं ।’
बाँके जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रिय सदस्य भोजराज शाहीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले महिला खेलाडी उत्पादनमा टेवा पुर्याउने विश्वास गरे । प्रतियोगिताका प्रचार-प्रसार उपसमिति संयोजक निरज गौतमले पहिलो पटक सञ्चालन हुन लागेको लुम्बिनी कपको ब्यापक रुपले प्रचार प्रसार गरिएको बताए ।
पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले प्रतियोगिताको प्रचार-प्रसारमा पत्रकारले कुनै कसर बाँकी नराख्ने बताउँदै सहज रुपमा समाचार संकलन गर्ने ब्यवस्था मिलाउन आयोजकको ध्यानाकर्षण गराए । प्रतियोगिताका विजेता टिम र विधागत खेलाडीलाई आर्कषक पुरस्कार दिइने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा खेलकुद क्षेत्रका अगुवा, पत्रकार तथा सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।