कोहलपुर : प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिका रोजगार सेवा केन्द्रले श्रममा आधारित योजनामा खटिने श्रमिकलाई रोजगारीमा खटिनुपूर्व अभिमुखीकरण गराइएको छ । कोहलपुरमा सोमवार आयोजित कार्यक्रममा पहिलो चरणमा ५० जनालाई अभिमुखीकरण गरिएको केन्द्रका संयोजक आशिष बर्माले जानकारी दिए ।
उनका अनुसार कामको जोखिम, अपनाउनुपर्ने सावधानी, आयोजनाको प्रकृति, सम्झौता, भुक्तान प्रक्रिया लगायतका विषयमा उनीहरुलाई जानकारी प्रदान गरिएको हो । श्रममा आधारित योजनाका लागि चालु आर्थिक वर्षमा कोहलपुर नगरपालिकाका ८ वटा वडामा १७ वटा योजना छनोट भएका छन । पहिलो चरणमा ५ वटा योजनाका लागि ५० जना श्रमिकले फारम भरेका थिए ।
उनीहरुलाई अभिमुखीकरण गरिएको हो । वडा नम्बर २, ३, ४, ५ र ८ का ५० जना श्रमिकलाई बोलाएर जानकारी दिने काम गरिएको केन्द्रका संयोजक वर्माले बताए । उनीहरुले एक दिन काम गरेवाफत ६६८ रुपैयाँ पाउने केन्द्रका प्राविधिक ललित रेग्मीले बताए । उक्त रकम सिधैं उनीहरुको बैंक खातामा जानेछ ।
उनीहरुले कामको आवश्यकता अनुसार एक सय दिनसम्म काम गर्न पाउनेछन् । वडाको आवश्यकताअनुसार उनीहरुले नाला सफाई, बाटो मर्मत, नयाँ बाटोको ट्रयाक खुलाउने जस्ता काम गर्ने रेग्मीले बताए । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट २०८१÷०८२ को रोजगार सेवा केन्द्र कोहलपुरको लागि स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत रोजगारीमा खटिनुपूर्व श्रमिकहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको संयोजक बर्माले बताए ।