नेपालगन्ज : नेपालगन्जमा बिहीबार (भोली) देखी सुरू हुन लागेको प्रादेशिक महोत्सव-२०८१ को उद्घाटन कार्यक्रमलाई विशेष गराउन लागिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भोलीदेखी यही माघ २२ गतेसम्म कारकाँदोस्थित सडक विभाग परिसरमा प्रादेशिक महोत्सव सञ्चालन हुदैछ ।
संघका प्रवक्ता डम्बर चन्दका अनुसार बिहीबार दिउँसो १ बजे भब्य समारोहका बीच उद्घाटन गर्न लागिएको हो । महोत्सवको प्रमुख अतिथी एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन् । उद्घाटन कार्यक्रममा सहभागी हुन उनी सुर्खेत हुदै नेपालगन्ज आउनेछन् ।
उद्घाटन समारोहमा बाँकेबाट प्रतिनिधित्व गर्ने संघिय सांसद, प्रदेशका मन्त्री तथा सांसद, स्थानीय तहका जनप्रतिनिधि, उद्योग वाणिज्य महासंघका केन्द्रिय पदाधिकारी, वरिष्ठ उद्योगपति, ब्यापारी, समाजसेवी, नागरिक अगुवा लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहने भएको छ । महोत्सव उद्घाटन गर्नुअघि बिहान १० बजे संघको कार्यालय त्रिभुवन चोक पुर्वबाट झाँकी निकालिने भएको छ । उक्त झाँकी सुर्खेत रोड हुदै महोत्सव स्थलमा पुगेर समापन हुने प्रवक्ता एवम महोत्सव प्रचार संयोजक चन्दले बताए ।
संघका अध्यक्ष टंक धामीले उद्योग, व्यापार, कृषि, पर्यटन, जडिबुटी, रोजगार, सुचना प्रबिधि र पर्यटन व्यवसायिक उद्यमशाला तथा कला सँस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको र बुधबार बेलुकासम्म सबै तयारी पुरा भईसकेको जानकारी दिए ।
उनका अनुसार उक्त महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी प्रदर्शनीमा राखिनेछ । महोत्सवमा कृषि, पर्यटन, अटो मोबाइल्सका पनि स्टल रहने अध्यक्ष धामीले बताए । सूचना तथा विज्ञान प्रविधि सम्बन्धी नविनतम प्रविधिका साथै उद्यमशाला समेत प्रदर्शनीमा राखिने संघले जनाएको छ ।
महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यब्यङ्ग सहितको साँस्कृतिक प्रस्तुती तथा कृषि, पर्यटन, जडीबुटी, हस्तकला, अटो मोबाईल्स लगायत ३ सय ५० वटा स्टलका साथै सुचना तथा विज्ञान प्रबिधि सम्बन्धि नबिनतम प्रदर्शनी, विदेशी उधमशाला तथा उघोग प्रदर्शनी, थारू भिलेज साथै बिद्यालय स्तरीय नृत्य तारा प्रतियोगिता हुनेछ ।
महोत्सवमा रोजगार प्रवद्र्धन सम्बन्धी प्रदर्शनी हुने संघले जनाएको छ । महोत्सव आयोजना गर्न एक करोड खर्च हुने र करिव ५० लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । महोत्सवबाट आउने आम्दानी व्यवसायिक हितमा उपयोग गरिने संघले जनाएको छ ।