नेपालगन्ज : बाँकेमा पाँच महिनाको अवधिमा ३६ जना नयाँ कुष्ठरोग संक्रमित फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखी मंसिर महिनासम्म २३ जना पुरुष र १३ जना महिला गरी ३६ जना फेला परेका हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्सन रविन्द्र शाहले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार सबैभन्दा बढी कोहलपुरका १० जना संक्रमित रहेका छन् । आईएनएफ नेपाल बाँके साईनिङ अस्पताल नेपालगन्जले शुक्रबार गरेको कार्यक्रममा अस्पतालका ईन्चार्ज मंगलबहादुर चौधरीले आईएनएफ नेपाल बाँकेले कुष्ठरोग विरुद्ध औषधी उपचार, जनचेतना अभिवृद्धि लगायतका कामहरु गरेको जानकारी दिए ।
आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनामा ९ हजार ६ सय १४ जनालाई बहिरंग सेवा दिएको उनले बताए । बाँकेसहित बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, सल्यान, रुकुम, सुदुरपश्चिम प्रदेश र भारतका गरी कुल ५८ जना नयाँ कुष्ठरोगी पहिचान तथा प्रेशन गरिएको चौधरीले जानकारी दिए ।
यसैगरी ७९ जना अन्तरंग सेवामा भर्ना, ४ सय ७३ जनालाई कुष्ठरोगी निदान तथा अनुगमनको लागि प्रयोगशाला परिक्षण लगायत कार्य गरिएको चौधरीले बताए । अस्पतालमा अहिले १४ जना बिरामी भर्ना भएर उपचार गराइरहेका छन् । ‘कुष्ठरोगको जटिलता भएर उपचारका लागी आउनु भएको हो, उहाँहरु विभिन्न जिल्लाबाट आउनु भएको छ,’ उनले भने ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जबसम्म कुष्ठरोगका बिरामीको संख्या घट्दैन, तबसम्म चुनौती नै रहेको बताए । ‘समुदायमा अहिले पनि कुष्ठरोगलाई लुकाउने प्रवृत्ति रहेको छ,’ शाहीले भने । राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएको घोषण भएपनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुष्ठरोग संक्रमण दर वर्षेनी बढिरहेको उनले बताए ।