नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजको ब्यवस्थापन पक्षले आफ्ना कर्मचारीले अघि सारेका माग अहिलेको परिस्थितीमा पुुरा गर्न नसक्ने प्रष्ट पारेको छ । नेपालगन्जमा बिहीबार पत्रकार सम्मेलन गरी मेडिकल कलेजको ब्यवस्थापन पक्षले यस्तो बताएको हो ।
मेडिकल कलेजका कर्मचारीहरु तलब बृद्धि लगायत माग राखेर आन्दोलनमा छन् । उनीहरुले प्रशासन लगायत कक्ष ताला लगाएका छन् । कर्मचारीले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् । कर्मचारीको आन्दोलनका कारण मेडिकल कलेजका दुबै अस्पतालका सेवा प्रभावित भएका छन् ।
पत्रकार सम्मेलनमा कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले संस्था अहिले घाटामा रहेकाले अहिले कर्मचारीले उठाएको माग सम्बोधन गर्न नसकिने बताए । धेरै कर्मचारी पुराना र स्थायी रुपमा कार्यरत रहेकाले उनीहरुलाई सेवाबाट हटाउन पनि नसकिने र तत्काल तलब बृद्धि पनि गर्न नसकिने उनको भनाइ छ ।
कोरोना महामारीले दुई वर्षदेखी मेडिकल कलेजको शैक्षिक गतिविधी पुरै ठप्प रहेको र नेपालगन्ज र कोहलपुरस्थित शिक्षण अस्पतालमा पनि आम्दानी भन्दा बढी खर्च भइरहेकाले कर्मचारीको तलब, भत्ता वृद्धि गर्न नसकिने बताए । अधिकारको नाममा कर्मचारीले बढी राजनीति गरेको र अस्पतालको दैनिक कार्यमा बाधा पुर्याउनु, ताला लगाउनु गैर कानुनी तथा मानवता विरोधी कार्य भएको कनोडियाले बताए ।
मेडिकल कलेजका सञ्चालक तथा फाइनान्स विभाग प्रमुख श्यामकुमार शर्माले कर्मचारीको तलब, भत्ता नेपाल सरकारको नियम अनुसार २०७५ सालमा बृद्धि गरिएको र कोरोना महामारीका कारण संस्था घाटामा गएकाले बृद्धि गर्न नसकिएको बताए । अस्पतालको अहिले आम्दानी भन्दा बढी खर्च भइरहेको उनको भनाइ छ । कर्मचारीको आन्दोलनका कारण अहिले दैनिक १५ लाखदेखी २० लाखसम्म कलेजले घाटा ब्यहोर्नु परिरहेको बताए ।
मेडिकल कलेजका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले देशका अन्य निजी मेडिकल कलेजभन्दा नेपालगन्ज मेडिकल कलेजले सस्तोमा सेवा दिइरहेको बताए । कलेजका कर्मचारीको लागि निःशुल्क औषधी उपचारको ब्यवस्था मिलाउँदै आएको ब्यवस्थापन पक्षले जनाएको छ । जटिल परिस्थितीमा आन्दोलन रोकेर काममा फर्किन उनीहरुले कर्मचारीलाई अपिल पनि गरेका छन् ।
भिडियो हेर्नुस् :