नेपालगन्ज : नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सवभित्र लागेको रोजगार मेला युवा युवतीको आर्कषणको केन्द्र बनेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा स्थानीय सडक डिभिजन कार्यालय परिसरमा यही माघ १० गतेदेखी महोत्सव चलिरहेको छ । महोत्सभित्र सञ्चालित रोजगार मेलामा रोजगारी खोज्दै युवा युवतीहरुले चासो देखाएका छन् ।
रोजगारीका लागि बाँकेसहित विभिन्न जिल्लाका १ सय २२ जनाले बिहीबार बेलुकासम्म निवेदन दिएको संघका महासचिव एवम् रोजगार मेला व्यवस्थापन उपसमितिका संयोजक भीमबहादुर रानाभाटले जानकारी दिए । रोजगार मेला ब्यवस्थापनका लागि संघले जिल्लाका ७ वटा स्थानीय तहसँग सहकार्य गरेको उनले बताए ।
महोत्सव भित्र राखिएको ‘ए–वान स्टल’ मा पुगेर युवा युवतीले रोजगारीमा चासो देखाएको र निवेदन पनि दर्ता गराएको संयोजक रानाभाटले सुनाए । उनका अनुसार निवेदन दिनेमा सबैभन्दा धेरै बाँकेका रहेका छन् । ‘पहिलो चरणमा हामी निवेदन लिएर तथ्यांक संकलन गरिरहेका छौं, दोस्रो चरणमा बाँकेका स्थानीय तहसँगको सहकार्यमा छुट्टै रोजगार मेला लगाउने तयारी पनि छ,’ उनले भने । संघका अध्यक्ष टंकबहादुर धामीले महोत्सवमा निवेदन दिएका युवा युवतीलाई सहभागी गराएर आगामी फागुन १६ देखी १७ गतेसम्म नेपालगन्जमा रोजगार मेला लगाउने बताए । उनले भने, ‘रोजगार मेलामा रोजगारदाता र रोजगारको खोजीमा रहेका व्यक्तीबीच सम्पर्क गराएर रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य हो ।’
रोजगार मेलाबाट धेरै भन्दा धेरै ब्यक्तीका लागि रोजगारी उपलब्ध गराएर रोजगारीको खोजीमा विदेश पलायन रोक्न र देशको अर्थतन्त्र चलायमान बनाउने यसको मुख्य उद्देश्य रहेको महोत्सव मुल आयोजक समितिका संयोजक समेत रहेका धामीले बताए ।
रोजगार मेला व्यवस्थापन उपसमितिका सदस्य(सचिव) कुशल गुप्ताका अनुसार सिभिल इन्जिनियर, आइटी, कम्प्युटर अपरेटर, सेक्युरिटी गार्ड, ड्राइभर, इलेक्ट्रिसियन, सिलाई कटाइ, सिलाई बुनाई, अटोमोबाईल्स, इन्जिनियरिङ, अचार बनाउने, पेन्टर, मेडिकल लाइन, ग्यारेज, कार्यालय सहयोगी, होटल र रेष्टुरेन्टको वेटर, व्यूटिसियन, किचन हेल्फर लगायत कामका लागि युवा युवतीको निवेदन परेको छ ।
रोजगार मेलका लागि नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका तथा खजुरा, बैजनाथ, राप्ती सोनारी, जानकी र नरैनापुर गाउँपालिकाले सहकार्य गरेका छन् । उद्योग वाणिज्य संघले बेरोजगार व्यक्तीलाई निवेदन दिएर रोजगार मेलामा सहभागी हुन पनि आब्हान गरेको छ ।