नेपालगन्ज : रैथाने कथा र बाँकेको समग्र आख्यानबारे शनिबार नेपालगन्जमा व्यापक चर्चा गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य विभागको आयोजना र सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगन्ज बाँकेको संयोजनमा शनिबार नेपालगन्जमा आयोजित बाँके आख्यान महोत्सवमा आख्यानका विविध पाटोमा समिक्षात्मक चर्चा गरिएको हो ।
साहित्यकारहरु सनत रेग्मी, किरण आचार्य, बिष्णुलाल कमाल, शेखर दहितसँग लेखक तथा पत्रकार शुक्रऋषि चौलागाईले रैथाने कथाका विविध पाटोमा रहेर सहजीकरण गरेका थिए । रैथाने समुदायमा कयौं विषयहरु भएपनि सशक्त र प्रभावकारी रैथाने कथा किन लेखिएनन, रैथाने समुदायबाटै कथाकार कसरी उत्पादन गर्ने लगायतका सवाल, जवाफसँगै अन्तरक्रिया गरियो ।
बाँके जिल्लाका निबन्ध, निबन्धकार र लेखनीमा साहित्यकार पुष्कर रिजालले प्रवचन दिए, भने समग्र आख्यानको अवस्था, सुधार गर्नुपर्ने पक्ष लगायतमा ईश्वरी प्रसाद रिजालले प्रवचन दिए । कस्तो कथा लेख्ने बहसमा सनत रेग्मी, धन प्रसाद सुवेदी र अमर न्यौपानेसँग सहजकर्ता सुमित्रा न्यौपानेले सहजीकरण गरिन् । यसअघि महोत्सवको उदघाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले स्थानीय आख्यान लेखन सशक्त र प्रभावकारी बनाउन साहित्यियक संस्थाहरु पनि संगठित हुनुपर्ने आवश्क्तामा जोड दिए ।
नेपाल प्रज्ञा प्रतिष्ठान गद्य विभाग प्रमुख अमर न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ महानन्द ढकाल र खजुरा प्रज्ञा प्रतिष्ठानका उप-कुलपति डा. ईन्द्र भण्डारीले पनि आख्यान लेखन गुणस्तरिय बनाउन स्रष्टा स्वयं जागृत हुनुका साथै कार्यशाला लगायतका कार्यक्रम र अभियान गर्नुपर्नेमा पनि जोड दिए । स्रष्टा जितबहादुर शाहद्धारा सञ्चालन गरिएको कार्यक्रममा जिल्लाका विशिष्ठ साहित्यिक स्रष्टाहरुको सहभागिता रहेको थियो ।