बाँके (उढरापुर) : बालबालिकाको शिघ्र कुपोषण व्यवस्थापनका लागि खजुराको उढरापुर स्वास्थ्य चौकीमा ओ.टि.सी. केन्द्र सञ्चालनमा ल्याइएको छ । यहाँका बालबालिकालाई कुपोषित हुनबाट रोक्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीका अनुसार बी. ग्रुपको सहयोग र समन्वयमा केन्द्र स्थापना गरिएको हो । केन्द्रको आइतबार एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । खजुरा गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक कृष्णा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बी. गु्रपका अध्यक्ष ईन्द्रबहादुर भण्डारी, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी लगायतले बोलेका थिए । कार्यक्रममा वडा स्तरका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविका लगायतको उपस्थिती रहेको थियो ।
स्वास्थ्य शाखा प्रमुख केसीका अनुसार गाउँपालिकाले हालै गरेको स्क्रिृनिङबाट २ सय १७ जना मध्यम शिघ्र कुपोषण र २७ जना कडा शिघ्र कुपोषण भएका बालबालिका फेला परेका थिए । यि मध्ये गाउँपालिकाको वडा नम्बर ६ मा धेरै कुपोषण भएका धेरै बालबालिका फेला परे । गाउँपालिकाको वडा नम्बर ६ लाई लक्षित गरेर नजिकै रहेको उढरापुर स्वास्थ्य चौकीमा केन्द्र स्थापना गरिएको शाखा प्रमुख केसीले प्रष्ट्याइन् । खजुराका ८ वटा मध्ये ६ वटा स्वास्थ्य संस्थामा केन्द्र स्थापना भईसकेको उनले बताइन ।
‘खजुरा गाउँपालिका वडा नम्बर ६ मा स्वास्थ्य संस्थाको रुपमा आधारभुत स्वास्थ्य केन्द्र छ, त्यहाँको भन्दा स्वास्थ्य चौकीमा जनशक्ति सहितको ब्यवस्थापन राम्रो भएको हुँदा यहाँ केन्द्र स्थापना गरेका हौं,’ उनले भनिन् । केन्द्रमा मध्यम शिघ्र कुपोषण र कडा शिघ्र कुपोषण भएका बालबालिकालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गरिनेछ ।
‘एक जना बच्चालाई न्युनतम आधा घण्टादेखी पौने घण्टासम्म स्वास्थ्यकर्मीले समय दिनुपर्ने हुन्छ, मध्यम र कडा शिघ्र कुपोषण भएका बच्चालाई चेकजाँच गरिसकेपछि उनीहरुको खानपान लगायत स्याहार सुसारका बारेमा केन्द्रका स्वास्थ्यकर्मीले सिकाउनु हुन्छ, कत्तिको सुधार भयो भनेर पछि लेखाजोखा गर्नुहुन्छ,’ प्रमुख केसीले भनिन् ।