नेपालगन्ज : सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको २७ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम गरेर मनाइएको छ । वार्षिक उत्सवको अवसरमा होटल सिद्धार्थ नेपालगन्जले विभिन्न कार्यक्रम गरेको छ । वार्षिक उत्सवको अवसरमा माघ २२ गते नीलसागर आश्रममा २० थान सिरक हस्तान्तरण गरियो ।
यस्तै माघ २३ गते नेपाल रेडक्रस सँगको सहकार्य गरी रक्तदान कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रमबाट ६० पिन्ट रगत संकलन भएको होटल सिद्धार्थका जनरल म्यानेजर बद्री कोईरालाले जानकारी दिए । वार्षिक उत्सवको अवसरमा नेपालगन्जका संयुक्त कर्मचारी सहित मुख्य अतिथीका रुपमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाअध्यक्ष दिपक कुमार बर्माले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीलाई २७ औं वार्षिक उत्सवको शुभकामना दिँदै केक काटेका थिए ।
यसैगरी माघ २४ गते वार्षिक उत्सवको अवसरमा नेपालगन्ज साइकल फेस्टिवल–२०२५ मा सिद्धार्थ तेस्रो नेपालगन्ज किड्रस रेसमा मुख्य प्रायोजनका रुपमा होटेल सिद्धार्थ नेपालगन्ज रहेको थियो । नेपालगन्जको करकाँदोमा रहेको प्रहरी तालिम केन्द्रदेखि सुरु भई होटेल सिद्धार्थ नेपालगन्जमा कार्यक्रम समापन भएको थियो । उक्त प्रतियोगितामा ५० भन्दा बढी बालकहरुको सहभागिता भएको थियो ।
सिद्धार्थ तेस्रो नेपालगन्ज किड्स रेसमा ६ वर्षदेखि १० वर्षको उमेरका बालकहरु रहेका थिए, भने त्यसमा पनि ५ देखि ७ वर्षको एउटा समूह र ८ वर्षदेखि १० वर्षको अर्को समूह गरी दुई विधामा साइकल प्रतियोगिता भएको थियो । होटल सिद्धार्थका क्लस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्टका अनुसार उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई दुईटै विधामा पुरस्कार व्यवस्था गरिएको थियो ।
दुईटै विधामा पहिलो हुने बालकलाई स्कुल ब्याग र एक महिनाको स्विमिङ ट्रेनर सहित स्विमिङ निःशुल्क, दुईटै विधामा दोस्रो हुने दुबै जना बालकहरु स्कुल ब्याग र १५ दिनको स्विमिङ ट्रेनर सहित स्विमिङ निःशुल्क र तेस्रो हुने दुई वटै विधाका बालकहरुलाई गिफ्ट ह्याम्पर सहित ७ दिनको स्विमिङ ट्रेनर सहित स्विमिङ निःशुल्क गरिएको थियो ।
होटेल सिद्धार्थ, नेपालगन्जकै सबैभन्दा धेरै 'रुम' भएको चार तारे लक्जरी होटेल हो । सिद्धार्थ गु्रप अन्तर्गत देशभरका विभिन्न स्थानमा होटेल, रिसोर्ट, रेष्टुरेन्ट, क्याफे सहित ३१ वटा आउटलेटहरु सञ्चालन गर्दै आएको छ । दुई महिना भित्रमा सिद्धार्थ कटेज धनगढीले सेवा प्रदान गर्ने भएको छ ।