बाँके(बिनौना) : बाँकेको राप्ती सोनारीमा हुन लागेको ‘प्रथम राप्ती सोनारी कृषि व्यापार एवं पर्यटन महोत्सव-२०८१’ को तयारी तीब्र पारिएको छ । आगामी फागुन १ गतेदेखि ११ गतेसम्म राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनास्थित राप्ती सोनारी रंगशालामा उक्त महोत्सव सञ्चालन गर्न लागिएको हो ।
महोत्सवको तयारी तीब्र पारिएको मुख्य आयोजक राप्ती सोनारी उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष टिकाराम ढुंगानाले महोत्सवको करिव ८० प्रतिशत काम भईसकेको जानकारी दिए । महोत्सव सञ्चालनका लागि सबै पक्षसँग छलफल, परामर्श लिने काम गरिरहेको पनि उनले बताए । ‘अहिलेसम्म लगभग ८० प्रतिशत भईसकेको छ, पर्सी बिहानसम्म सबै काम सम्पन्न हुन्छ,’ उनले भने ‘महोत्सव स्थलमा निर्माण कार्यसँगै प्रचार-प्रसारको काममा पनि हामी लागेका छौं ।’
अहिले महोत्सव स्थलभित्र स्टल ब्यवस्थापनसँगै मनोरञ्जनका सामाग्री जडानको काम चलिरहेको संघका महासचिव मोहन गौतमले बताए । ‘महोत्सवलाई ब्यवस्थित रुपले सञ्चालन गर्नको लागि हामीले राप्ती सोनारीका सम्वद्ध सरोकारवाला पक्षसँग पनि निरन्तर छलफल गरिरहेका छौं,’ उनले भने । महासचिव गौतमका अनुसार सोमबार पनि महोत्सव स्थलमा विभिन्न सरोकारवाला पक्षसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
कृषि, पर्यटन, व्यापार व्यवसाय प्रवर्धनका लागि महोत्सव गर्न लागिएको संघले जनाएको छ । उक्त महोत्सवमा नविनतम प्रविधिजन्य उत्पादनहरु, महिलाद्धारा तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरु प्रमुख आर्कषण रहनेछन् । उक्त महोत्सवमा विभिन्न ब्यापारिक, कृषि, सहकारी, राप्ती सोनारी र नरैनापुरको पर्यटकीय क्षेत्रको प्रचार–प्रसार लगायत सम्बन्धी स्टलहरु रहनेछन् ।
महोत्सवमा हरेक दिन स्थानीय एवम राष्ट्रिय स्तरका साँस्कृतिक कार्यक्रम हुनेछन् । पहिलो पटक आयोजना हुन लागेको महोत्सवप्रति राप्ती सोनारीबासीको धेरै चासो रहेको महासचिव गौतमले बताए । ‘राप्ती सोनारीबासी लगायत यहाँका अगुवाहरु, विभिन्न सरोकारवाला सबै उत्साहित हुनुहुन्छ, महोत्सवलाई कसरी भब्य रुपले सम्पन्न गर्ने भन्नेमा सबैको चासो र चिन्ता रहेको छ,’ उनले भने ।
महोत्सव स्थल भित्र रहने थारु गाउँ थप आर्कषकको केन्द्र बन्ने आयोजकले जनाएको छ । महोत्सव सञ्चालनका लागि राप्ती सोनारी गाउँपालिका कार्यालय अगैया बाँकेसहित विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहकार्य रहेको छ । महोत्सव अवधिभर एक लाख ५० हजार देखि २ लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको छ ।