बाँके(राप्ती सोनारी) : बाँकेको राप्ती सोनारीमा शुक्रबारदेखी ‘प्रथम राप्ती सोनारी कृषि व्यापार एवं पर्यटन महोत्सव-२०८१’ सुरु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनास्थित राप्ती सोनारी रंगशालामा महोत्सव सुरु भएको हो ।
राप्ती सोनारी उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा राप्ती सोनारी गाउँपालिकाको संरक्षणमा सुरु भएको महोत्सवको एक समारोहका बीच उद्घाटन गरियो । कार्यक्रमका प्रमुख अतिथी एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले एक समारोहका बीच महोत्सव उद्घाटन गरेका हुन् ।
राप्ती सोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाको सभापतित्वमा भएको सम्पन्न भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी पौडेलले पहिलो पटक आयोजना गरिएको महोत्सवले कृषि, पर्यटन, उद्योग, ब्यापारको प्रवद्र्धन हुने बताए । यस्ता महोत्सवले राप्ती सोनारीको समृद्दिमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
सो क्रममा विशिष्ट अतिथी तथा पुर्बमन्त्री प्रेमबहादुर भण्डारी, संविधान सभाका सदस्य पट्टु थारु, संघका सल्लाहकार रामदास थारु, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराई, राप्ती सोनारी ५ का वडाअध्यक्ष झगरु थारु लगायतले पनि मन्तब्य ब्यक्त गरे । कृषि, पर्यटन, व्यापार व्यवसाय प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको संघले जनाएको छ ।

उद्घाटन शत्रमा संघका सल्लाहकार तथा राप्ती सोनारी गाउँपालिकाका संस्थापक अध्यक्ष लाहुरम थारु, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, कोहलपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मणराज पौडेल, निवर्तमान महासचिव मात्रिका सापकोटा, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि लगायतको उपस्थिती रहेको थियो । संघका उपाध्यक्ष हरिभक्त पौडेलले स्वागत मन्तब्य व्यक्त गरेको उक्त कार्यक्रम सञ्चालन महासचिव मोहन गौतमले गरेका थिए ।
महोत्सव उद्घाटन गर्नुअघि दुई वटा हात्तीसहितको झाँकी प्रर्दशन गरिएको थियो । उक्त महोत्सवमा नविनतम प्रविधिजन्य उत्पादनहरु, महिलाद्धारा तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरु प्रमुख आर्कषण रहने आयोजकले जनाएको छ । उक्त महोत्सवमा विभिन्न ब्यापारिक, कृषि, सहकारी, राप्ती सोनारी र नरैनापुरको पर्यटकीय क्षेत्रको प्रचार–प्रसार लगायतका सम्बन्धी स्टलहरु रहनेछन् ।
महोत्सवमा हरेक दिन स्थानीय एवम राष्ट्रिय स्तरका साँस्कृतिक कार्यक्रम हुने भएका छन । महोत्सव स्थल भित्र रहने थारु गाउँ थप आर्कषकको केन्द्र बन्ने आयोजकले जनाएको छ । महोत्सव अवधिभर एक लाख ५० हजार देखि २ लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको छ ।













