नेपालगन्ज : ब्राइटल्याण्ड स्कुल र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगन्ज रंगशालामा भएको प्रतियोगिताको पुरुष तर्फ ब्राइटल्याण्ड स्कुलले सडनडेथमा ग्रीनपिस मावि नेपालगन्जलाई सडनडेथमा हराउँदैं च्याम्पियन बनेको हो ।
गल्र्स तर्फ नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले आदर्श मावि नेपालगन्जलाई ४-० ले पराजित गर्दै च्याम्पियन बनेको हो । आइतबार पुरुष तर्फको खेल निर्धारित समय गोल रहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि खेलको नतिजा सडनडेथमा निकालिएको थियो । ब्राइटल्याण्डलाई च्याम्पियन बनाउनको लागि अनमोल गुरुङ, जोन थारु, श्रीरिस रावत, जटिन लामा गुरुङ र दिक्सान बुढाले गोल गरे ।
ग्रीनपीसको लागि विशाल थापामगर, बिराज रोकाय, डेविट तामाङ, दिपेश भण्डारीले गोल गरे । फाइनल खेलको प्लेयर अफ द म्याचको ट्रफी ब्राइटल्याण्डका खेलाडी दिक्सान बुढाले जिते । उनलाई एचसीआरसी हस्पिटलका अध्यक्ष डा. कुमार सान शाह र युथ ओलम्पिक एम्बेसडर चाहना शाहले पुरस्कृत गरे ।
यसैगरी गल्र्सतर्फको फाइनलमा नेपालगन्ज सेन्ट जेभियर्सको लागि रमिता कुमारी बडुवाल र रेश्मा थारुले २–२ गोल गरे । रमिताले २५औं र २६औं मिनेटमा गोल गरे । रेश्माले ४५ औं र ५७ औं मिनेटमा गोल गरेकी थिइन् । खेलमा नेपालगन्ज सेन्ट जेभियर्सकी रमिता कुमारी बढुवाल प्लेयर अफ द म्याचबाट पुरस्कृत गरे । उनलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका प्रशिक्षण विभाग प्रमुख जयन्त कुमार श्रेष्ठले पुरस्कृत गरे ।
उक्त प्रतियोगितामा पुरुष तर्फ ब्राइटल्याण्ड स्कुलका सिरिस रावत र महिला तर्फ नेपालगन्ज सेन्ट जेभियर्सकी सृष्टि थारु सर्वोत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भए । उनीहरु दुबै जनालाई वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरिक्षक अरुण बमले पुरस्कृत गरे । बाँके जिल्ला फुटबल संघको आयोजनामा फागुन २६ देखि सुरु भएको प्रतियोगितामा बाँके जिल्लाका २१ वटा पुरुष टिम र ६ वटा महिला टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेता दुबै टिमले नगद ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।
विजेता खेलाडीहरुलाई नेपालगन्ज उप-महानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, महासचिव कमल खत्री, उप-महासचिव दिर्घराज आचार्य कौशल,एचसीआरसी हस्पिटलका अध्यक्ष डा. कुमार सान शाह, निर्देशक रमेश सिटौला, कोहलपुर नगरपालिका खेलकुद संयोजक चक्र चिमाला क्षेत्री, राखेपका पुर्व सदस्य राजेन्द्र शाही, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, पुर्वराष्ट्रिय खेलाडी तेजबिक्रम शाह, गोविन्द प्रसाद श्रेष्ठ, समसुद्दिन सिद्धिकी, महिला फुटबल समिति अध्यक्ष नितु चन्द शाह, निजामुद्धिन सिद्धिकी, युथ ओलम्पिक एम्बेसडर–२०२२ लगायतले पुरस्कृत गरेका थिए ।