नेपालगन्ज : लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा हुने भएको छ । महिला उद्यमी संघ नेपाल, बाँकेले प्रदेश स्तरको प्रदर्शनी गर्न लागेको हो । प्रर्दशनीको नवौं संस्करणको तयारी तीब्र पारिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रदर्शनीको तयारी लगभग अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दियो ।
स्थानीय बागेश्वरी मन्दिर पसिरको चिल्ड्रेन पार्कमा यही फागुन ६ देखि १० गतेसम्म सञ्चालन हुने प्रदर्शनी हुनेछ । प्रर्दशनीको नवौं संस्करणलाई थप प्रभावकारी बनाउन यसपटक तीन वटा फरक कार्यक्रम आयोजना गर्ने तयारी गरिएको संघकी अध्यक्ष राधा बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिइन् । प्रर्दशनीमा फागुन ७ गते महिला उद्यमी उत्प्रेरणा कार्यक्रम गरिने उनले बताइन् । उक्त कार्यक्रममा महिला उद्यमीको संभावना र चुनौतीका विषयमा सरोकारवाला र विज्ञसँग संवाद हुनेछ ।
यस्तै फागुन ८ गते युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन कार्यक्रम हुनेछ । उक्त कार्यक्रमका लागि युवा सञ्जाल सहित युवा र महिला उद्यमीको सहभागीता रहनेछ । बाँके र आसपासका कलेज र बिद्यालयका छात्र छात्राको पनि कार्यक्रममा सहभागिता रहने उनले जानकारी दिइन् । यसैगरी फागुन ९ गते सफल महिला उद्यमीको अनुभव आदान प्रदान र सम्मान कार्यक्रम गर्ने तयारी भएको अध्यक्ष बस्नेतले बताइन । नेपालगन्जको परम्परागत तथा रैथाने परिकारलाई प्रवद्र्धन गर्नका लागि स्टलहरु राखिने संघले जनाएको छ ।
प्रदर्शनीलाई भब्य बनाउन विभिन्न उप-समिति गठन गरिएको कार्यक्रम संयोजक एवं संघका प्रथम उपाध्यक्ष रेवती सिंहले जानकारी दिइन् । गाउँ तथा शहरमा भएका महिलालाई आफ्नो सिप, क्षमता र स्थानीय बस्तुको प्रयोग गर्दै उद्यमशील बनाउने लक्ष्यसहित प्रदर्शनीको आयोजना गरिएको उनको भनाई छ ।
नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्यूठान, रोल्पा, पूर्वी रुकुम, सल्यान लगायत जिल्लाबाट आएर महिलाले आफ्नो उत्पादन प्रदर्शनीमा राख्ने जानकारी दिइन् । प्रदर्शनीले महिलाले उत्पादन गरेका बस्तु तथा उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि अवसर सिर्जना गर्ने उनको विश्वास छ । प्रदर्शनीमा करिव ६० वटा स्टलमा एक सय ५० भन्दा बढी उद्यमीले आफ्नो उत्पादनको बिक्री तथा प्रचार–प्रसार गर्ने छन् ।
प्रदर्शनीमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाँङ, स्थानीय उत्पादन बेसार, अचार, मह, हातले बनाइएका जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीको तेल, अण्डालगायत बस्तु रहनेछन् । प्रर्दशनी पाँच दिनसम्म चल्नेछ, भने करिव २५ हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । प्रर्दशनीमा नेपालगन्ज उपमहानगरपालिका कार्यालय प्रवद्र्धक रहेको छ ।