बाँके(बिनौना) : चर्चित गायक कृष्ण रेउलेले ‘प्रथम राप्ती सोनारी कृषि व्यापार एवं पर्यटन महोत्सव–२०८१’ मा आफ्नो दमदार प्रस्तुती दिएका छन् । राप्ती सोनारी–५ चिलहरियास्थित राप्ती सोनारी रंगशालामा जारी महोत्सवमा आइतबार बेलुका गायक रेउलेले आफ्ना करिव आधा दर्जन भन्दा बढी गितहरु दर्शकमाझ पस्के ।
महोत्सवतर्फ दर्शकको ध्यान तान्न उनले आफ्ना गितहरु एकपछि अर्को गरी पस्किरहे । उनले आफ्नो चर्चित गित ‘दोहोरी गाउँदै काट्ने हो रात आज...’, ‘आज गाउँमा बिजुली चम्कियो...’ लगायत गीत गाउँदा स्टेजमा युवा युवतीहरु पनि पुगेर कम्मर मर्काउँदै नाँचे । यस्तै गायिक निर्मला भण्डारीले पनि आइतबार नै महोत्सवमा आफ्नो प्रस्तुती दिइन् ।
चर्चित मोडल आरुषी अस्लामी मगरले पनि आफ्नो प्रस्तुती देखाईन् । महोत्सवमा आइतबार पनि स्थानीय कलाकारको बेजोड प्रस्तुती रहेको महोत्सवका संयोजक एवम् राप्ती सोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाले जानकारी दिए । महोत्सव अवलोकन गर्न दिउँसो भन्दा बेलुकीपख दर्शकहरुको उपस्थिती बढी हुने गरेको उनले बताए । महोत्सवमा आइतबार संचारकर्मीद्वय तिलक गाउँले र शान्ति सुनारले उद्घोषण गरेका थिए ।

महोत्वको साँस्कृतिक समितिका अनुसार सोमबार(भोली) चर्चित गायिका टिका सानु, चर्चित थारु गायक रोशन रत्गैया लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने संघका महासचिव मोहन गौतमले बताए । राप्ती सोनारी गाउँपालिकाको संरक्षणमा जारी महोत्सवमा नविनतम प्रविधिजन्य उत्पादनहरु, महिलाद्धारा तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरु प्रमुख आर्कषण रहेको आयोजकले जनाएको छ ।
उक्त महोत्सवमा विभिन्न ब्यापारिक, कृषि, सहकारी, राप्ती सोनारी र नरैनापुरको पर्यटकीय क्षेत्रको प्रचार–प्रसार लगायतका सम्बन्धी स्टल राखिएका छन् । अनुग्रह सेक्युरिटी सर्भिस नेपालगन्ज–६ बाँकेको ब्यवस्थापनमा चलिरहेको प्रतियोगिताको यही फागुन २ गते उद्घाटन गरिएको थियो ।
