नेपालगन्ज : पटक-पटक म्याद थपेर निर्माण सम्पन्न भएको नेपालगन्ज सिटी हल अन्ततः मंगलबार उद्घाटन गरिएको छ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले औपचारिक रुपमा उद्घाटन गरे । सिटी हल उद्घाटन भएपनि यहाँको भौतिक संरचनाको सुरक्षा र नियमित सञ्चालनबारे आशंका जागेको छ । ठुलो क्षमताको सभा हल नहुँदा यहाँका अधिकांस कार्यक्रम यसअघि होटलमा हुने गरेका थिए । सिटी हल बनेपछि नेपालगन्जबासीका लागि सुविधा थपिएपनि ‘अपायक’ स्थानमा हुँदा नियमित प्रयोग आउनेमा शंका छ ।
नेपालगन्ज उपमहमानगरपालिका वडा नम्बर १४ भवानीयापुरमा संघिय आयोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले सिटी हल निर्माण गरेको हो । उक्त स्थान नेपालगन्जको मुख्य बजार क्षेत्रबाट करिव ४ किलोमिटर टाढा नेपाल-भारत सिमा क्षेत्रमा पर्छ । ‘सिटी हल निर्माण त भयो, तर नियमित रुपमा कत्तिको प्रयोगमा आउँछ, त्यो अहिले नै भन्न सकिन्न,’ नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ भन्छन् ‘सिटी हल कतै प्रयोगविहिन हुने त होईन ?’
पञ्चायतकालमा तत्कालिन सरकारले सोही ठाउँमा निर्माण गरेका करोडौंका भौतिक संरचना प्रयोगमा नआएर जीर्ण बनेका छन् । अधिकांस सरकारी भवनमा प्रयोग भएका सामाग्री चोरी भएका छन् । नेपालगन्जबासीको आवश्यकता र माग अनुसार सिटी हल निर्माण भएपनि ‘अपायक’ स्थान र असुरक्षाका कारण नियमित रुपले प्रयोगमा आउनेमा शंका रहेको यहाँका अगुवाको बुझाई छ ।
करोडौं रुपैयाँ खर्च गरेर निर्मित भौतिक संरचनाको सुरक्षाबारे नागरिक स्तरबाट चिन्ता छाएको छ । राज्यको ठुलो रकम खर्च भएर बनेको सिटी हललाई दिर्घकालिन रुपमा सञ्चालन गराउनुपर्ने उनीहरुको सुझाव छ । ‘नेपालगन्जको सिटी हल पोखरा र भैरहवा विमानस्थल जस्तो नहोस् भन्ने हाम्रो कामना छ,’ श्रेष्ठले थपे ।
सरकारले पाँच वर्षअघि (२०७५ माघ २५ गते) ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम अगाडी बढाएको थियो । निर्माणको काम गर्न ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सन प्रा.लि.ले मुल्य अभिबृद्धि कर बाहेक २९ करोड ४५ लाख ५५ हजार ९ सय ५१ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले २०७८ साउन २५ गतेभित्र सबै काम सम्पन्न गरिसक्नुपर्नेमा कम्पनीले चौथो पटक म्याद थपेर केही महिना अघि मात्र निर्माण सम्पन्न गरेको हो ।
संघिय आयोजना कार्यान्वयन इकाई कार्यालयले निर्माण गरेपनि सञ्चालन र ब्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको छ । सिटी हललाई कुन तहको सरकार वा निकायले सञ्चालन गर्ने भन्नेबारे यसअघि अन्यौलता देखिएको थियो । निर्मित सिटी हलमा कुल ७ सय ९५ सिट क्षमताको ठुलो हलसहित अन्य चार वटा साना हल, प्रशासनिक कक्ष, पार्किङ लगायत पुर्वाधार निर्माण गरिएको छ ।
सिटी हल उद्घाटन गर्दै उपप्रधान एवम् शहरी विकास मन्त्री सिंहले विकास निर्माण सम्बन्धी संरचनाको सदुपयोग गर्नुपर्ने बताए । ‘बनिसकेका भवन तथा विकासको सही सदुपयोग गर्नुुपर्छ,’ उनले भने । सिटी हलले नेपालगन्जमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरे । सिटी हल निर्माण पश्चात यहाँ हुने विभिन्न गतिविधिलाई व्यवस्थित गर्न सुविधा हुने भन्दै यसको सही सदुपयोग गर्न आग्रह गरे ।